काठमाडौं।
सामाजिक सञ्जाल फेसबुकमा सक्रिय एक समूहले क्याम्पेन अभियान संचालन गरी महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ।
फेसबुक ग्रुप नेपालगञ्ज ग्यालेरीले केन्द्रलाई सहयोग गर्न फेसबुकमा संचालन गरेको अभियानबाट संकलित एक लाख २८ हजार ७५१ रूपैयाँ आज केन्द्रका प्रमुख समेत रहेका पुनलाई हस्तान्तरण गरियो।
नेपालगञ्ज ग्यालेरीका एडमिन एवम् अभियन्ता विवेक श्रेष्ठले विभिन्न व्यक्तिबाट स्वस्फूर्त रूपमा प्राप्त सहयोग रकम कीर्तिपुरस्थित आविष्कार केन्द्रमै पुगेर पुनलाई हस्तान्तरण गरिएको जानकारी दिए।
सहयोग रकम बुझ्दै पुनले आविष्कार केन्द्रलाई यतिबेला अल्पकालीन नभई दीर्घकालीन सहयोगको आवश्यकता परेको र सवैको साथ पाए केन्द्र चाँडै आफै सक्षम हुने पनि विश्वास व्यक्त गरेका थिए। पुनले नेपालगञ्ज ग्यालेरीमार्फत् सहयोग गर्ने दाताहरूलाई धन्यवाद पनि दिए।
प्रविधिका क्षेत्रमा सृजनात्मक सोच भएका युवाहरूलाई नेपालमै उत्पादन क्षेत्रमा लगाउने र विदेशमा रहेका नेपाली प्राविधिक जनशक्तिलाई स्वदेशमै कामको अवसर दिने भनेर पुनको पहलमा केन्द्रको स्थापना भएको हो। तर, केन्द्र संचालनका लागि आर्थिक अभाव हुँदा समस्या भइरहेको भन्दै पुनले सबैसँग सहयोगको अपिल गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस्