27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

नेपालगञ्ज महानगरको लागि कोहलपुर नमिसिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस १०, २०७६  

कृष्ण ओली । कोहलपुर ।
पछिल्लो समय कोहलपुर र नेपालगञ्ज उपहानगरपालिका क्षेत्रलाई जोडेर नेपालगञ्ज महानगरपालिका बनाउने बहस चलिरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले महानगरपालिका बनाउनको लागि सम्भाव्यता अध्ययन समेत थालिसकेको अवस्था छ । प्रदेश ५ सरकारले समेत बाँकेमा महानगरपालिका बनाउन कोहलपुर नेपालगञ्ज अवधारणा अगाडि सारेको छ । तर कोहलपुर भने महानगरपालिका बनाउनको लागि नेपालगञ्जमा गाभिने पक्षमा देखिएको छैन । अहिले कोहलपुर नगरपालिकाले बैजनाथ र राप्तीसोनारी गाउँपालिकालाई मिलाएर बरु उपहानगरपालिका बनाउने तयारी गरेको छ ।

यसको लागि केही महिना अघि देखि नै अनौपचारीक रुपमा छलफल सुरु भइसकेको बताइन्छ । नेपालगञ्जले महानगरपालिका बनाउन के कस्ता पूर्वाधार आवश्यक पर्छन्, भौगोलिक क्षेत्र कति बढाउनुपर्छ, जनसंख्या कति हुनुपर्छ, भौतिक पूर्वाधारको विस्तार लगायतका सम्भावनाबारे छलफल चलाइरहदा कोहलपुरले भने महानगरको बहस छोडेर उपमहानगरपालिकाको बहस चलाउन सुरु गरेको हो । नेपालगञ्जले महानगरपालिका बनाउन यसअघि बसेको नगरसभाबाट प्रस्ताव पारित भएको र सम्भाव्यता अध्ययनका लागि बजेट समेत छुट्याइसकेको छ । महानगरको बहस सुरु भएसँगै पछिल्लो समय यहाँको राजनितिक वृत्त तातिएको छ ।

अहिले कोहलपुर नेपालगञ्जमा हुने अधिकांश कार्यक्रम तथा छलफलहरुमा महानगरको बारेमा चर्चा हुने गरेको छ । कार्यक्रमहरुमा महानगरको बिषयलाई गम्भिरताका साथ उठाइन्छ । पछिल्लो समय कोहलपुरमा महानगरपालिकाको बिषयमा यहाँका जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी लगायतका सरोकारवालाहरुले मुख खोल्न थालेका छन् । नेपालगञ्जले महानगरको लागि कोहलपुरको साथ खोजिरहेको अवस्थामा कोहलपुर भने आफै नै उपमहानगरपालिका बनाउने तयारीमा जुटेको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत महानगरको बिषयमा पछिल्लो समय चर्चा हुन थालिसकेको बताउँछन् ।

‘कोहलपुरलाई समेत मिसाएर नेपालगञ्जलाई महानगर बनाउने बिषयमा पछिल्लो समय बहस भइरहेको छ’ उनले भने, ‘केही समयअघि समेत फिलिपिन्स भ्रमणको क्रममा नेपालगञ्ज उपमहानगरका प्रमुख डा.धवल शमशेर राणाले कोहलपुरलाई मिसाएर नेपालगञ्जलाई महानगर बनाउने कुरा सुनाउनुभएको थियो ।’ ‘नेपालगञ्जलाई महानगर बनाउनको लागि कोहलपुर नभई नहुने भन्दै बन्दै सहमति गरेर जाउ भन्ने बारे आफुसँग जिज्ञासा राख्नुभयो’ नगरप्रमुख रावतले कोहलपुरमा आयोजित कार्यक्रममा भने । उनले भने कोहलपुरलाई केही छिमेकी गाउँपालिकासँग मिसाएर कोहलपुरलाई उपमहानगरपालिका बनाउने जनताको योजना रहेको सुनाएको बताए । ‘उहाँले कोहलपुर नमिसाए त हुँदैन भन्नुभयो, मैले अन्य स्थानीय तह खजुरा, जानकी र डुडुवालाई मिलाएर लैजानुस भने’ नगर प्रमुख रावतले भने ।

उनले भने, ‘मेरो व्यक्तिगत धारणा त बैजनाथ, राप्तीसोनारी र कोहलपुर मिलाएर उपमहानगर बनाउनुपर्छ भन्ने छ ।’ यस बिषयमा आफुले धेरै ठाउँमा बोलिसकेको भन्दै नगर प्रमुख रावतले कोहलपुर नेपालगञ्जसँग जोडिन नगएर र उपमहानगर बनाउने विषयमा कोहलपुरबासी जनता, अगुवा र राजनितिक दलहरुको सहकार्य आवश्यक रहेको बताए । उनीजस्तै कोहलपुरलाई नेपालगञ्जमा नमिसाएर कोहलपुरलाई उपहानगरपालिका स्तरउन्नती गर्नुपर्नेमा यहाँका राजनितिक दलहरु समेत एक ढिक्का छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‐नेकपा)का कोहलपुर नगर कमिटी अध्यक्ष बसन्ती अधिकारीले व्यक्तिगत र सामुहिक रुपमा महानगरको विषयमा चर्चा हुने गरेको बताइन् । महानगरको लागि कोहलपुर नेपालगञ्जमा नगाँभिने भन्दै उनले कोहलपुरलाई नै उपमहानगरपालिका बनाउने बिषयमा अनौपचारिक छलफल भईरहेको दाबी गरिन् । ‘मेरो व्यक्तिगत धारणा नेपालगञ्जसँग कोहलपुर गाँभिनु हुन्न भन्ने नै हो’ नगर अध्यक्ष अधिकारीले भनिन्, ‘कोहलपुरले अरु सँग मिसिएर आफ्नो अस्तित्व मेटाउनु हुदैन भन्ने हो ।’ पछिल्लो समय चर्चाको रुपमा रहेको विषयमा नेताहरु बीच कुराकानी हुने गरेको भन्दै पार्टीको आधिकारिक धारणा नआईसकेको उनले जानकारी दिइन् । ‘हामी नेपालगञ्जसँग गाँभिदा र कोहलपुरलाई उपमहानगर बनाउँदा फाईदा, असर, अस्तित्व र जनताको चाहनाको रुपमा अघि बढ्दा उपयुक्त हुन्छ’ नगर अध्यक्ष अधिकारीले भनिन् ।

नेपाली काँग्रेस कोहलपुर नगर सभापति बलराम शर्माले नेपालगञ्जले कोहलपुरलाई सदियौं देखी हेपाहा प्रवृत्तिले हेर्दै आएकोले नेपालगञ्ज सँग गाँभिन नहुने बताए । ‘नेपालगञ्जमा मिसिन जानुभन्दा पनी कोहलपुर क्षेत्रको विकास र समृद्धिका लागि कोहलपुरलाई उपमहानगर बनाउन सकिन्छ’ उनले भने, ‘तर यसका लागि राजनितिक सहमति आवश्यक
हुन्छ ।’ ‘मैले बारम्बार मेयर ज्युलाई यस विषयमा कार्यपालिकाबाटै निर्णय गर्नुस हामी साथ दिन्छौ भनेको छु’ सभापति शर्माले भने, ‘तीन वटै स्थानीय तहमा मिले भने हाम्रो पनि सहमति छ ।’

बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले बैजनाथ, राप्तीसोनारी र कोहलपुरलाई मिलाएर उपमहानगर बनाउनको लागि अनौपचारिक रुपमा छलफल भएपनि औपचारिक रुपमा प्रक्रिया अघि नबढेको बताए । प्रदेश सरकारको परिकल्पना अनुसार विभिन्न स्थानीय तह गाँभ्ने विषयमा आएकोले बैजनाथलाई कोहलपुरसँग गाँभ्ने विषयमा कुनै ठोस निर्णय नभएको स्पष्ट पारे । पूर्वाधार तथा अन्य संरचनाको विकास गरेर भएपनि बैजनाथ गाउँपालिकालाई नगरपालिका बनाउने विषयमा आफ्नो व्यक्तिगत धारणा रहेको उनले बताए ।

प्रकाशित मितिः बिहिबार, पुस १०, २०७६     8:41:56 AM  |