26 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

न्याय नपाउने डरले पीडित महिलाले फेर्छन् बयान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, पुस ४, २०७६  

रीता लामा, घोराही, रासस ।

अठ्ठाइस वर्षीया अपाङ्गता भएकी महिलालाई राप्ती गाउँपालिका–१ का २१ वर्षीय समिर अलीले बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ पुस १८ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिए । घरमा सुतिरहेको अवस्थामा गत वर्ष पुस १७ गते राति जबर्जस्ती करणी गरेको पीडितले बताइन् । पीडितको स्वास्थ्य परीक्षणपछि प्रहरीले पुस १८ गते गिरफ्तार गरी जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलायो । जिल्ला अदालतले ०७६ असार ९ गते आठ वर्ष कैद गर्ने फैसला ग¥यो । पाँच वर्षीया बालिकालाई ०७५ माघ १६ गते घोराही उपमनपा–२ का १८ वर्षीय मुकेश विकले बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १६ गते नै प्रहरीमा उजुरी दिए ।

फकाएर खोलामा लगेर बलात्कार गरेको खुल्न आयो । रक्तश्राव भएपछि पीडित बालिकाको उपचार तथा स्वास्थ्य परीक्षण भयो । प्रहरीले आरोपितलाई माघ १६ गते नै गिरफ्तार गरी जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलायो । जिल्ला अदालतले ०७६ वैशाख २७ गते दोषी ठहर गर्दै १६ वर्ष कैद र पीडितलाई स्थानीय तहबाट रु ५० हजार क्षतिपूर्ति उपलब्ध गराउने फैसला ग¥यो । यसैगरी एघार वर्षीया बालिकालाई ०७५ फागुन १३ गते घोराही उपमनपा–८ का ३१ वर्षीय सुनिल थापाले बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । १६ वर्षीया बालिकालाई ०७५ फागुन ७ गते घोराही उपमनपा–१८ का ३५ वर्षीय मदन विकले बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले फागुन ८ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए ।

पाहुना बस्न गएका विकले रातको समयमा बालिकालाई बलात्कारको प्रयास गरेको पीडितले बताइन् । पच्चीस वर्षीया महिलालाई ०७६ असार १ गते तुलसीपुर उपमनपा–६ का ३५ वर्षीय नवीन शर्माले बलात्कार गरेको भन्दै पीडित पक्षले असार २ गते इप्रका तुलसीपुरमा उजुरी दिए । रातको समयमा महिलाकै कोठामा पुगेर बलात्कार गरेको पीडित पक्षले प्रहरीलाई बताएको थियो । १५ वर्षीया सुस्तःमनस्थितिकी बालिकालाई १० महिनादेखि लगातार राजपुर गाउँपालिका–३ का ६५ वर्षीय मानबहादुर चौधरीले बलात्कार गरी ०७६ असार ३१ गते बच्चा जन्मिएको भन्दै पीडित पक्षले इप्रका गढवामा साउन ८ गते उजुरी दिए ।

अनौपचारिक सेवा केन्द्र (ईन्सेक) सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० मा विगत एक वर्षमा दाङमा महिलामाथि बलात्कार, बलात्कारको प्रयास र यौन दुव्र्यवहारका ६९ घटना भएको उल्लेख छ । इन्सेकका जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार प्रहरी, प्रशासन, अदालत, सरकारी वकिल कार्यालय, न्यायिक समिति, ओसिएमसी, ओरेक, जिल्लास्तरीय सेवा केन्द्र, पत्रकार तथा स्वयं पीडितकै माध्यमबाट भएका घटनाको सत्यतथ्य विवरण सङ्कलन र अभिलेखीकरण गरिएका घटना हुन् । इन्सेककका अनुसार बलात्कारजस्ता घटनामा मिलापत्र भएको छ भने केहीले निवेदनसमेत दिएनन् । दिएकाले बयान फेर्ने क्रम बढ्दो छ ।

यौन हिंसा र बेचबिखनमा परेका झन्डै ५० प्रतिशत महिलाले उजुरी दर्ता गर्दादेखि मुद्दा अदालतमा चलिरहेका बेलासम्म आफ्नो बयान फेर्ने गरेका छन् । पीडक शक्तिशाली भएको अवस्थामा पीडितहरूले बयान फेर्ने गरेको पाइएको सो पुस्तकमा उल्लेख छ । संरक्षणको अभावमा पनि पीडितले आफूले लगाएको आरोप र आरोपित व्यक्तिबारे बयान फर्ने गरेको भेटिएको छ ।

प्रकाशित मितिः शुक्रबार, पुस ४, २०७६     10:58:23 AM  |