शिखरको ९ औँ साधारण सभा, ‘सहकारीलाई उद्यमशिलतासँग जोड्यौ’



कोहलपुर ।

सहकारी क्षेत्रलाई उद्यमशिलतासँग जोड्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् । आर्थिक विकाससँगै सहकारीलाई उद्यमशिलतासँग जोड्न आवश्यक रहेकोमा उनीहरुले बताएका हुन् । कोहलपुरमा रहेको शिखर जडिबुटी उत्पादक सहकारी संस्थाको ९ औँ साधारण सभाको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले सहकारीको जिम्मेवारी बचत गर्ने मात्रै नभई रोजगारी र उद्यमशिलता विकास गर्नु पर्नेमा जोड दिएका थिए ।

जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले सहकारीमा आर्थिक विकाससँगै उत्पादनशिल क्षेत्रमा समेत लगानी आवश्यक रहेको बताए । ‘सहकारीले स्थानीय स्तरमा रहेका सम्भावनाहरुको खोजि गरी उत्पादनको समेत क्षमता राख्नुपर्छ’ उनले भने, ‘सहकारीहरुमा महिला सहभागिता राम्रो पक्ष रहेपनि स्वरोजागार मुलक क्षेत्रमा पनि प्रेरित गर्नुपर्ने आवश्यकता छ ।’ साधारण सभामा उद्यमशिलता सहकारीमा किन आवश्यक शिर्षकमा प्रकरण गोष्ठी समेत गरिएको थियो ।

सहभागि सहकारीका सेयर सदस्यहरुलाई प्रशिक्षण गर्दै उद्यमशिलता जानकार सालिकराम डाँगीले उद्यमशिलता आम्दानीको स्रोत पहिल्याउने माध्यम भएको बताए । सहकारी क्षेत्रलाई नाफामुखी मात्रै नभई व्यवसायमुखी बनाउनको लागि उद्यमशिलता आवश्यक रहेको उनको तर्फ रहेको थियो । यस्तै नेपाल केन्द्रीय कृषि सहकारी संघका सञ्चालक देव बहादुर के.सी.ले सहकारीले समाजको आवश्यकतामा आधारित हुनुपर्ने बताए । शिखर जडिबुटी उत्पादक सहकारी संस्थाका अध्यक्ष नवराज उपाध्यायले सहकारीले अहिले जडिबुटी उत्पादन गरि रहेको बताए ।

‘सहकारीले अहिले शिखर अचार बजारमा ल्याएको छ’ उनले भने, ‘आगामी दिनमा सिलाईकटाई, गहना र च्याउ सहित अन्य जडिबुटीहरुको उत्पादन बजारमा ल्याउने तयारी गरिरहेका छौं ।’ सहकारीले नेतृत्व विकास र उद्यमशिलताका कार्यक्रम समेत निकट भविश्यमा ल्याउने अध्यक्ष उपाध्यायले जानकारी दिए । ‘हाम्रो उद्देश्य समृद्ध सेयर सदस्यहरुको हो’ उनले भने, ‘शिखरलाई नयाँ ब्राण्डका रुपमा विकास गर्नको लागि लागिपरेका छांै ।’ सो अवसरमा सस्थाले लागु गरेका बचतहरुमा नियमित बचत गर्ने, उत्कृष्ट बचतकर्ता लगायतलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ८ गते आइतबार