कोहलपुर ।
आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि स्थानीय तहका उम्मेदवारहरुलाई आइतबार चुनाव चिन्ह प्रदान गरिएको छ । उक्त समयमा बाँकेको कोहलपुर नगरपालिका ६ मा वडा अध्यक्षको पदको लागि उपनिर्वाचन हुनेछ । कोहलपुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले यहाँका पाँच जना उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ ।
निर्वाचन आयोगले कार्यालयले आइतबार स्थानीय तह उप–निर्वाचनको लागि उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका तय गरेको थियो । मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीका अनुसार विभिन्न दलबाट वडा अध्यक्ष पदको लागि मनोनयन दर्ता गरेका पाँच दलले चुनावमा सहभागिता जनाउने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार राम शरण थारूलाई सुर्य, नेपाली कांग्रेसका श्रीकृष्ण थारूलाई रुख र राष्ट्रिय प्रजातन्त्र पार्टीका श्रीधर सुवेदीलाई गाई चुनाव चिन्ह प्रदान गरिएको छ ।
यस्तै समाजवादी पार्टीका सुभाखर पोख्रेललाई पाँच औंला सहितको हत्केला र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार दिपा लक्ष्मी हमाललाई मादल चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उप–निर्वाचनलाई लक्षित गरी मंसिर पाँच गतेबाट मतदाता शिक्षा कार्यक्रम लागु सञ्चालन गरिनेछ ।
मंसिर ११ गते सम्म निर्वाचन क्षेत्रका मतदातालाई मतदाता शिक्षा दिईने जिल्ला निर्वाचन कार्यालय बाँकेका निर्वाचन अधिकृत खुम प्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार कार्यक्रम अन्र्तगत निर्वाचन क्षेत्रका मतदाताहरुलाई भोट हाल्ने तरिका, मतदान पत्र पट्याउने तथा छाप लगाउने विषयमा जानकारी गराईने छ । मतदाता शिक्षा कार्यक्रमका लागि २ जना मतदाता शिक्षा कार्यकर्ता तोकिएको छ ।









प्रतिक्रिया दिनुहोस्