19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

बुबाआमाको स्मृतिमा विद्यालयलाई सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक २४, २०७६  

खोटाङ।

पत्रकार डम्बरसिं राई र उमेत राई तथा उहाँहरूको परिवारले आफ्ना बुबाआमाको स्मृतिमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित ज्योति माविलाई सहयोग गरेको छ ।

नेपाल पत्रकार महासङ्घ खोटाङका पूर्वअध्यक्ष एवम कान्तिपुर दैनिकका उपसम्पादक डम्बरसिं तथा पत्रकार महासङ्घ खोटाङकै पूर्वअध्यक्ष उमेतको परिवारले सो विद्यालयलाई १३ थान पानी छान्ने मेसिन (फिल्टर) प्रदान गरेको हो । प्रतिगोटा रु एक हजार ४०० पर्ने फिल्टर जालपास्थित पत्रकार राई दाजुभाइको घरमा आज विद्यालयका सहायक प्रधानाध्यापक मिलन राईलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा पूर्व सांसद टङ्क राई, प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य हरिबोल आचार्य, नेकपा दिक्तेल–रुपाकोट मझुवागढी नगर कार्यसमिति सचिव गोपालचन्द्र आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान राई, स्थानीय बुद्धिजीवी, समाजसेवी, शिक्षक, विद्यार्थीलगायतको उपस्थिति थियो ।

आगामी शैक्षिकसत्रमा सो विद्यालयमा रु ५० हजारको ‘धनजीत राई स्मृति’ अक्षयकोष स्थापना गर्ने राई दाजुभाइले बताए । राई दाजुभाइकी आमा धनमायाको गत वर्ष तथा बुबा जीतबहादुरको नौ वर्ष अघि निधन भएको थियो ।

प्रकाशित मितिः आइतवार, कार्तिक २४, २०७६     5:38:10 PM  |