६ वर्षदेखि अलपत्र धर्मशाला बनाउँदै आमा समुह



कोहलपुर ।

२०६९ सालमा बाँके कोहलपुर नगरपालिका ०२, प्रेमनगरमा धर्मशाला निर्माण गर्ने भन्दै महायज्ञ लगाइयो । महायज्ञ धुमधामका साथ लगाएपछि त्यसको एक वर्षपछि २०७० सालबाट धर्मशाला निर्माण सुरु गरियो । अहिले धर्मशाला निर्माण गर्न सुरु गरिएको ६ वर्ष पुरा भइसकेको अवस्था छ । तर विम्डवना निर्माणको काम सुरु भएको धर्मशालाको काम भने २० प्रतिशत पनी पुरा भएको छैन् । अहिले भने ६ वर्षसम्म पूरा नभएको काम पूरा गर्ने जिम्मेवारी स्थानीय एक आमा समुहले पाएको छ । स्थानीयबासीहरुले ६ वर्षदेखि अलपत्र धर्मशाला निर्माणको काम पुरा गर्नको लागि लालीगुराँस आमा समूहलाई दिएका हुन् ।

पुरुषको नेतृत्वमा बनेको समितिले ६ वर्षसम्म पनी पुरा गर्न नसकेको कामको जिम्मेवारी अहिले महिलाले पाएका छन् । धर्मशाला र मन्दिर निर्माणको लागि भन्दै लगाइएको महायज्ञमा प्रतिबद्धता गरेका दाताहरुले रकम नदिदा आर्थिक अभावमा काम अगाडि बढ्न नसकेको महिला समुहले जनाएको छ । आफुले प्रतिबद्धता गरेको रकम दाताहरुले नदिदाँ निर्माण कार्य बिचमै रोखिएको थियो । अहिलेसम्म पुरानो निर्माण समितीले १४ लाख रुपैयाँ खर्च गरेर धर्मशालाको जग र पिलर मात्रै निर्माण गरेको छ । गएको तिहारमा देउसी भैलो खेल्दा जम्मा भएको रकम लगाउँदै लालीगुराँस आमा समूहले निर्माण पुरा गर्ने जिम्मा लिएको छ ।

अझै धर्मशालाको ८० प्रतिशत भन्दा बढी काम निर्माण गर्नुपर्ने बाँकी नै रहेको छ । ‘देउसी भैलोबाट जम्मा भएको १ लाख रुपैयाँ लगाउदै निर्माण सुरु गरेका छौं’ लालीगुराँस आमा समूह अध्यक्ष कल्पना काफ्लेले भनिन्, ‘अहिले थप निर्माणको लागि आवश्यक पर्ने ईट्टा, गिट्टी र बालुवा संकलनको काम जारी छ । यसअघिको मन्दिर निर्माण समितिले दिएको जिम्मेवारी जसरी पनी पुरा गर्नेछौं ।’ गत वर्ष समेत समुहले तिहारमा देउसी दैलो खेलेर जम्मा गरेको ५० हजार रुपैयाँले प्रेमनगर टोलमा सडकवत्ति जडान गरेको थियो । ७ वर्ष पहिले महायज्ञ लगाउँदा प्रतिबद्धता गरेका व्यक्ति तथा संघ संस्थाबाट प्रतिबद्धता अनुसारको रकम वा जिन्सी संकलन गर्न समुहले सुरु गरिसकेको छ । ‘धर्मशाला निर्माणको लागि सुरु गरिएको महायज्ञमा करिब २९ लाख रुपैयाँ प्रतिबद्धता भएको थियो’ समुह अध्यक्ष काफ्ले भनिन्, ‘उक्त रकम वा जिन्सी उठाउन हामीहरु लागिपरीसकेका छौं ।’

समुह सचिव सिता गौतमले धर्मशाला निर्माणको जिम्मा आफुहरुले लिएपछि महायज्ञमा प्रतिबद्धता अनुसारको रकम संकलन काम सुरु भइसकेको बताइन् । उनका अनुसार शुक्रबार साँझसम्म प्रतिबद्धता जनाएका श्याम काफ्लेले १ लाख, कलाधर पोख्रेलले ५० हजार, नारायण रिजालले ४९ हजार ५ सय ५१ र खिल प्रसाद रिजालबाट २१ हजार रुपैयाँ प्रदान गरेका छन् । महायज्ञको बेला प्रतिबद्धता जनाएका अन्य व्यक्ति र संस्थाहरुलाई समेत रकम वा जिन्सी उपलब्ध गराउन समूह सचिव गौतमले आग्रह गरिन् । ‘समुहमा रहका हामी सबैजना क्रियाशिल नै भएर लागेका छौं’ उनले भनिन्, ‘समुहको अगुवाईमा सबैलाई साथमा लिएर छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्नेछौं ।’ ‘तिहार जस्ता पर्वहरुलाई रमाईलो लागि प्रयोग गर्ने चलन छ’ समूह कोषाध्यक्ष जमुना रिमालले भनिन्, ‘महिला पनि सामाजिक कार्यका लागि अग्रसर हुन्छन् भन्ने सन्देश दिनको लागि ठूलै कामको जिम्मेवारी लिएका हौं ।’

धर्मशाला निर्माणको जिम्मा लिएका यसअघिका मन्दिर निर्माण समितिका अध्यक्ष नविन रोकायाले लामो समय देखी निर्माण कार्य हुन नसकेको धर्मशाला निर्माणको जिम्मा आमा समूहलाई दिइएको जानकारी दिए । ‘हामीले यसअघि निर्माण पुरा गर्न नसकेको काम सम्पन्न गर्नको लागि आमा समुहलाई जिम्मा लगाएका छौं’ उनले भने, ‘यस काममा मन्दिर निर्माण समिति र स्थानीयको समेत भरपुर सहयोग हुनेछ ।’ ‘यस अघि मेरै नेतृत्वमा जग हाल्ने र पिलर ठड्याउने काम भयो, बाँकी काम विविध कारणले भएन’ मन्दिर समितीका अध्यक्ष रोकायले भने । निर्माण पुरा गर्ने जिम्मेवारी लिएको आमा समुहले सामाजिक काममा सबैको साथ र सहयोग भए निर्धारित समयमा नै काम सम्पन्न हुने विश्वास लिएको छ । अझै बाँकी काम सम्पन्न गर्नको लागि १० लाख रुपैयाँ भन्दा बढी लाग्ने अनुमान गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २३ गते शनिबार