दाङमा ट्याक्टर दुर्घटना हुँदा तीन बालिकाको मृत्यु भएको छ।
जिल्लाको गढवा गाउँपालिकाका वडा नं ६ का स्थानीय भैलो खेलेको पैसाले चिसापानीमा पिकनिक खाएर ट्याक्टरमा फर्किने क्रममा दुर्घटनामा परेका हुन्।
ट्याक्टर दुर्घटनामा थप चारजना गम्भीर घाइते भएका छन्। १९ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर गढवा गाउँपालिका वडा नं ६ मनिकापुर निवासी ११ वर्षीया मिनु पुन, १२ वर्षीया खुमा परियार र १२ वर्षीया सुनिता पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी विनोद विक्रम साहले जानकारी दिए।
घाइतेमध्ये ७ जनालाई बाँकेको कोहलपुर मेडिकल कलेजमा थप उपचारको लागि पठाइएको छ। अन्य सबैको लमहीमा उपचार भइरहेको साहले बताए।
चिसापानीमा शुक्रबार दिउँसो साढे ३ बजेतिर रा १ त २३९३ नम्बरको ट्याक्टरको ट्रली घोप्टिएपछि त्यसमा सवार २६ जनामध्ये तीन बालिकाको उपचारका क्रममा मृत्यु भएको डिएसपी साहले जानकारी दिए।
दुर्घटनापछि ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । चालकले पिकनिकमा मदिरा सेवन गरेका कारण उक्त दुर्घटना भएको हुन सक्ने प्रहरीको आशंका छ।








प्रतिक्रिया दिनुहोस्