‘पायक पर्ने ठाउँमा राजधानी’



कोहलपुर ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थायी राजधानी पायक पर्ने ठाउँमा तोकिने बताएका छन् । बाँकेको खजुरामा बुधबार बृहत् खजुरा सम्मेलनको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । ‘प्रदेश ५ को स्थायी राजधानी सबैलाई पायक पर्ने स्थानमा हुनेछ’ मुख्यमन्त्री पोखरेलले भने, ‘राजधानी नै विकासको मानक भने होइन् ।’ राजधानी भएको स्थानमा मात्र विकास हुन्छ भन्ने कुराको उनले खण्डन गरे । ‘प्रदेशको राजधानी नै विकासको मानक होइन’ उनले नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. धवल शमशेर राणालाई लक्षित गर्दै
भने, ‘बाँके संघियतापछि पछाडि परेको सुन्दै छु ।

मलाई त्यस्तो लाग्दैन ।’ ‘पुराना संचरनाहरु केही यहाँबाट बाहिर गएका होलान्’ उनले भने, ‘बाहिर हल्ला गरेजस्तो यहाँबाट सबै केही सकिसकिएको छैन ।’ त्यसैगरी मुख्यमन्त्री पोखरेलले अब विकासको लागि १५, २० वर्षिय योजना निर्माण गर्नुपर्ने बताए । अब दिगो विकासको लागि २० वर्षपछिलाई सोचेर योजना बनाउन आवश्यक रहेको उनले औल्याए । ‘अहिलेका सुचकहरुलाई हेरेर स्थानीय तहले २० वर्षसम्म केके गर्ने भनेर योजना बनाउनुहोस्’ उनले भने, ‘त्यसो हुन सके मात्र लगानी सदुपयोग हुँदै साँच्चीकै स्थानीय तह समृद्ध हुन्छ ।’ स्थानिय तहले आफ्नो छुट्टै पहिचान स्थापित गर्नुपर्नेमा मुख्यमन्त्री पोखरेलले जोड दिए ।

हरेक स्थानीय तहहरुलाई छुट्टै पहिचान झल्कने गरी योजना बनाउन आग्रह समेत गरे । ‘योजना बनाउँदा अरुको नक्कल नगर्नुस्’ मुख्यमन्त्री पोखरेलले भने, ‘आफ्नो छुट्टै पहिचान हुने योजना निर्माण गर्नुहोस् ।’ अर्को प्रसंगमा बोल्दै मुख्यमन्त्री पोखरेलले अल्छी नबनी सबैलाई घरदेखि गाउँसम्मको विकासमा लाग्न आग्रह गरे । ‘राज्यले पुर्वाधार तयार गर्दा पनि खेतवारी बाँझो राखेको देख्दा चित्त दुख्छ’ उनले भने, ‘अब हामी अल्छी नबनेर काम अगाडि बढौं ।’ खजुरालाई लक्षित गर्दै उनले भने, ‘इजरायलम मोडेलमा बनेको बस्ती भनिन्छ । तर कयौं घरका करेसावारी अझै बाँझै देख्छु ।’

मुख्यमन्त्री पोखरेलले इजरायलम मोडेलमा बस्ती बसालिएको भन्नुपर्दा पनी त्यहाँको जस्तै सिको गरेर अगाडि बढ्न खजुराबासीलाई आग्रह गरे । ‘खजुरामा म पटक पटक घुमेको छु’ उनले भने, ‘त्यसरी घुम्दा पुर्वाधार हुँदा हुँदैमा जनस्तरबाट हुनुपर्ने कुरा नभएको प्रति मेरो चित्त बुझेन ।’ प्रदेश ५ सरकारको काम कारवाही अन्य प्रदेशहरुको तुलनामा अगाडि रहेको उनले दाबी गरे । ‘गत आर्थिक वर्षमा हामीले अन्य ६ प्रदेशभन्दा बढी पुजिगत खर्च हामीले गरेका छौं’ मुख्यमन्त्री पोखरेलले भने,‘ यो आर्थिक वर्षमा अझ झन् पहिलेको भन्दा बढी प्रगती हुन्छ ।’

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक ७ गते बिहीबार