सुर्खेत गाई गोरु मृत्यु प्रकरण, छानविन समितिले बुझायो प्रतिवेदन



नेपालगञ्ज ।

बाँके नेपालगञ्जको ‘गाई काण्ड’को छानबिन गर्न नेपालगञ्ज उपमहानगरपालिकाले गठन गरेको छानविन समितिले प्रतिवेदन बुझाएको छ । अधिवक्ता विकास आचार्यको टोलीले मंगलबार नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. धवल शमशेर राणालाई प्रतिवेदन बुझाएको हो । बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘सुरक्षित रूपमा पशु ढुवानी मापदण्ड पूरा नगरी ढुवानी गरेको, ढुवानीकर्ता र जिम्मा दिइएका कर्मचारीहरुले आवश्यक सतर्कता नअपनाएको र सम्बन्धित निकायमा समयमै सूचना नगरेको कारण अकल्पनीय घटना हुन पुगेको स्थलगत अनुगमन र छानबिनका क्रममा उपलब्ध तथ्यहरुले देखाएको छ । घटना गाईगोरुको हत्या नियोजित रुपमा गरेको नभइ समयमै अपनाउनु पर्ने सतर्कता नअपनाई लापरबाही गरिएको कारणबाट हुन गएको हो ।’

घटनाको स्थलगत अनुगमन, सम्बन्धित सरोकारवालाहरुसँगको बयान र छानबिनबाट गाई गोरुको ढुवानी गर्दाको कमजोर व्यवस्थापन कारणले घटना हुनुको एउटा कारण हो भने पशु ढुवानी मापदण्ड विपरित एउटै ट्रकमा ५५ वटासम्म गाईगोरु राखेर ढुवानी गरेको पाइएको र ढुवानी गर्दा बीचबीचमा पशुको अवस्थाको बारेमा ख्याल नगरिएको र नबाँधिकन ट्रकमा गाईगोरु ढुवानी गर्दा पहाडी क्षेत्रको उकालो ओरालोमा एक आपसमा ठोक्किने र निसास्सिएर पशु घाइते हुनसक्ने तर्फ पनि ढुवानीकर्ताले सतर्कता अपनाएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘गाईगोरु दुवानी पूर्व निरोगी पशुहरुको पहिचान गरी स्वास्थ्य परीक्षण प्रमाण पत्र लिने, दानापानी उपयुक्त मात्रामा खुवाउने, उमेर अनुसारका पशुहरु अलग अलग साधनमा ढुवानीको व्यवस्था गर्ने, प्लेट फर्मको व्यवस्था गरेर मात्र पशुहरुलाई लोड तथा अनलोडको व्यवस्था गर्ने, प्राथमिक उपचारका औषधि समेतको उचित प्रवन्ध मिलाएको देखिएन भने गाईगोरु ढुवानी पूर्व सम्बन्धित ठाउँमा पुगेपछि गाई वस्तु लिने व्यक्ति संस्था एकिन गरी हस्तान्तरणको उचित प्रवन्ध नमिलाएको र बेवारिसे रुपमा छाडेको पाइयो ।

भदौ १२ गते राति नेपालगञ्जदेखि २ सय ९१ वटा गाईगोरु आठ वटा ट्रकमा राखेर दैलेख लैजाने क्रममा ३९ वटा गाईगोरुको मृत्यु भएको छानबिन समितिले जनाएको छ । घाइते भएका पशुहरुलाई उपचारमा बेवास्ता गरिनुका साथै मृत्यु भएका पशुहरुको उचित व्यवस्थापन गर्ने तर्फ दुवानीकर्ताले ध्यान नदिएको, मृत्यु भएका पशुहरुलाई उचित व्यवस्थापन गर्न दुवानी मापदण्ड अनुसार पशु क्वारेन्टाइन कार्यालय वा पशु सेवा विज्ञ केन्द्र तथा भेटेरीनरी अस्पताल वा पशुसेवा केन्द्र र प्रहरी प्रशासन र त्यहाँको स्थानीय तहलाई जानकारी गराएको पाइएन । छानविन टोलीले पशु सेवा ऐन २०५५, नियमावली २०५६ र पशु ढुवानी मापदण्ड २०६४ ले निर्दिष्ट गरेका प्रावधान विपरीत पशु ढुवानी गर्दाको परिणाम अप्रिय घटना घटेको जनाएको छ ।

पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, संघीय कार्यालय सुर्खेतले गरेको पोष्टमार्टम रिपोर्टमा निसास्सिएर, एकआपसमा ठोक्किएर आन्तरिक र बाह्य चोटका कारण गाई गोरु मरेको उल्लेख गरिएको छ । उपरोक्त बमोजिम कार्य गर्दा पनि आफ्नो क्षेत्र भित्र बेवारिसे अवस्था फेला परेमा तिनको व्यवस्थापनका लागि व्यवस्थित काञ्जीहाउस बनाई उचित खानपान एवं संरक्षण र सम्वद्र्धनको प्रवन्ध गर्ने मोडेल गौ उद्यान (काउ पार्क)को रुपमा विकास गरी पर्यटक प्रवर्द्धन समेत टेवा पुग्ने व्यवस्था गर्न’ समितिले प्रतिवेदनमा सुझाव दिएको छ । २८७ पृष्ठको प्रतिवेदन बुझ्दै मेयर राणाले राम्रो नियतका साथ काम गर्दा दुर्घटना हुन पुगेको बताएका थिए । छानबिन समितिमा पूर्णलाल चुके, रामकुमार सोनकर, खिमानन्द अर्याल, जनकराम भण्डारी, बसन्त गौतम र विश्वजित तिवारी रहेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज १५ गते बुधबार