3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

स्थानीय र प्रादेशिक आर्थिक विकास परियोजना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज ७, २०७६  

नेपालगञ्ज ।

स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजनाको कार्यान्वयनका लागि बाँकेको नेपालगञ्जमा सरोकारवालाहरु बीच छलफल गरिएको छ । जर्मन विकास नियोग (जिआईजेड) ले नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालन गर्न लागेको कार्यक्रमको बारेमा जानकारी दिने उद्धेश्यले सोमबार अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले उपमहानगरपालिकाले उद्योग ब्यापार, शिक्षा, स्वास्थ्य र पर्यटन गरि चार क्षेत्रमा विशेष प्राथमिकता दिएको भन्दै नयाँ कार्यक्रमले गाउँ र शहरलाई जोड्ने बताए ।

‘नेपालगञ्जमा आर्थिक विकास र पर्यटकीय विकासका लागि यो कार्यक्रम प्रभावकारी हुनेछ’ उनले भने, ‘यसले गाउँनगरलाई जोड्दै ब्यवसाय पनि प्रोत्साहन पनि गर्नेछ ।’ सन् २०१९ को जुन १ देखि सुरु भई सन् २०२२ को मे १ सम्म कार्यक्रम सञ्चालन हुनेछ । प्रदेशसभा सदस्य तथा नेकपा बाँकेका अध्यक्ष इन्द्रप्रसाद खरेल ‘आइपी’ले सरकार र जनताको आवश्यकता अनुसार दातृ निकायका कार्यक्रम सञ्चालन हुनुपर्ने बताए । जिआईजेडका प्रमुख प्राविधिक सल्लाहकार भोल्केव स्टाइजरवडले यो कार्यक्रमले नेपालगञ्ज उपमहानगरपालिकाले लाभ लिन सक्ने दाबी गरे । उनका अनुसार उपमहानगरपालिकाले कार्यक्रम सञ्चालनका लागि प्राथमिकता तोकेपछि जिआईजेडले कार्यक्रम र बजेटबाट निर्णय गर्नेछ ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, जिआईजेडका रोशन श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी, होटल ब्यवसायी संघ नेपालगञ्जका अध्यक्ष भिमलाल कँडेल, नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा, सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी लगायतले बोलेका थिए ।

प्रकाशित मितिः मङ्लबार, अशोज ७, २०७६     8:57:48 AM  |