कोहलपुर ।
इलाका प्रहरी कार्यालय कोहलपुरले भन्सार छलेर नेपाल आयात गरिएका खसी नियन्त्रणमा लिएको छ । कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख ८९९८ नम्बरको ट्रकमा शुक्रबार राती करीब १२ बजे कोहलपुर नगरपालिका वडा नं १२ चप्परगौडीस्थित जाँच केन्द्रमा जाँच गर्ने क्रममा ६४ खसी फेला परेको कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएका आठ हजार रुपैयाँका दरले पाँच लाख १२ हजार रुपैयाँ बराबरका छन् ।
आवश्यक अनुसन्धान पश्चात् ट्रक चालक कृष्णप्रसाद पराजुलीसहित बरामद खसीसहित भन्सार कार्यालय नेपालगञ्ज पठाइएको छ । नेपालगञ्ज नाकाबाट भारतीय खसीबोकाको आयातमा रोक लगाएसँगै ग्रामीण क्षेत्रका नाकाबाट तस्करी बढेको छ । सरकारले भारतबाट स्वास्थ्य प्रमाणपत्र नलिइ ल्याइएका पशुपक्षी, पशु उत्पादन सामग्री तथा पशुजन्य पदार्थको क्वारेन्टाइन नगर्ने नीति कार्यान्वयन गरेपछि खसीबोका तस्करी हुन थालेको छ । नेपालगञ्जस्थित पशु क्वारेन्टाइन चेकपोष्टले ‘क्वारेन्टाइन नगर्ने’ भएपछि व्यापारीले छोटी नाकाबाट खसीबोका तस्करी गरेर नेपालगञ्ज ल्याउने गरेको पाइएको छ ।
अवैधरुपमा नेपाल ल्याइएको खसीबोका प्रहरीले दैनिकजसो पक्राउ गर्ने गरेको छ । दुई हप्ताअघि पनि भारतबाट तस्करी गरेर ल्याउँदै गरेका ३९ खसीबोका सूचनाका आधारमा खटिएको प्रहरी टोलीले राप्तीसोनारी गाउँपालिका वडा नं ४ बैजापुरबाट तीन लाख २० हजार रुपैयाँ बराबरका ३९ खसीबोका नियन्त्रणमा लिएको थियो । खुल्ला सिमानाको फाइदा उठाउँदै बाँके बर्दियाका विभिन्न स्थानबाट भारतीय खसी बोकाको आयात हुने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्