1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

भेरी अस्पतालले जिउँदो शिशुलाई मृत घोषित गरेपछि…

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ २८, २०७६  

नेपालगञ्ज ।

सुत्केरी ब्यथा लागेपछि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको शुक्रबार बिहानै करिब पाँच बजे शिशुलाई जन्म दिइन् । जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई दियो । अस्पतालको प्रसुतिकक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै कपडामा पोको पार्दै पोलोथिनमा राखेर अन्तिम संस्कारका लागि थमाइदिए । शिशु जन्मिएपछि खुसी भएका श्रीमान् मिलन एकाएक मलिन अनुहार बनाउँदै अन्तिम संस्कार गर्ने तयारीमा लागे ।

छेडागाड नगरपालिका–९ जाजरकोटकी २० वर्षीया कमलाको शिशुलाई अस्पतालले मृत घोषित गर्दै आफन्तको जिम्मा लगाएपछि मिलनले अन्तिम संस्कारका लागि नेपालगञ्जस्थित बुलबुलियातर्फ लैजाँदै गर्दा शिशु बीचबाटोमै चल्मलायो । ‘प्रसुतिकक्षका कर्मचारीले तपाईंको बच्चा मरेको भन्दै पोलिथिनमा राखेर दिए, दुखी हुँदै हामी पनि सतगद् गर्न बुलबुलियातर्फ लैजाँदै गर्दा बच्चा चल्मलाएपछि तुरुन्त अस्पताल ल्यायौं,’ घटनाको विवरण सुनाउँदै मिलनले भने, ‘ज्यूँदो बच्चालाई मृत घोषित गर्दै अस्पतालले गाड्न पठायो, यो अस्पतालको चरम लापरवाही हो कारबाही गरिनुपर्छ ।’

उनले मरेको शिशुलाई गाडिदिने भन्दै अस्पतालका कर्मचारीले आफूसँग दुई हजार रुपैयाँसमेत मागेको बताए । ‘एकातिर ज्यूँदो बच्चालाई मरेको भनेर गाड्न लगाउँछ, त्यसैमा अस्पताल कर्मचारीले हामीसँग बार्गेनिङ गर्दै बच्चा गाड्ने रकम माग्छ, यो कहाँको कानून हो ?, कर्मचारीले कपडा धोएको ५०० र बच्चा गाडेको एक हजार ५०० गरी दुई हजार मागेपछि हामी आफैं गाड्छौँ भनेर लैजाँदै गर्दा बच्चा चलमलायो,’ मिलनले भने । तर अस्पतालले भने यस्तो अवस्थामा जन्मिएको बच्चा बचाउन असम्भव हुने बताएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै भदौ २६ मा गराइएको भिडिओ एक्सरे अनुसार बच्चाको अनुमानित तौल ६०८ ग्राम भएको जनाएको छ । ‘समयावधि पहिले जन्मेका बच्चाहरूको व्यवस्थापन सम्बन्धी प्रोटोकोलहरू अनुसार पनि संसारको विकसित मुलुकमै पनि ५०० ग्राम तौल वा २२ हप्ता भन्दापहिले जन्मेका बच्चाहरू बचाउन सम्भव हुँदैन, यस्तो अवस्थालाई गर्भपतन भनिन्छ’ विज्ञप्तिमा भनिएको छ ।

कमला गर्भवती भएको २३ हप्ता भएको थियो । ‘यो केसमा पनि आमा अस्पताल आउँदा पाठेघरको मुख पुरा खुल्ला भएको, योनीको बाटोमा रगत रहेको र अस्पतालमा आएको केहीबेरमै (बिहान ५ः४५) मा बच्चा स्वतः झरेको (एक्पेल भएको) थियो,’ अस्पतालले भनेको छ, ‘बच्चा जन्मिनेबित्तिकै रूने, सास फेर्ने, हात गोडा चलाउने गतिविधि नगरेको, परिक्षणमा मुटुको धड्कन नसुनिनेएको र नालमा समेत गति नभएको अवस्था थियो ।’ बच्चाको ढाड र पैताला चलाउँदासमेत कुनै सुधार नभएकाले त्यही बेला प्रसुतिकक्षकी नर्स अर्को बिरामीलाई हेर्न गएको अस्पतालको भनाइ छ । ‘केही समयपछि आएर हेर्दा समेत बच्चाको अवस्थामा कुनै सुधार भएको नपाए पछि दिन नपुगेको २३ हप्ताको ६०० ग्रामको बच्चा जन्मेको हुदाँ मेरो बच्चा बुझिलिएँ’ भनी भरपाइ गराइ बिहान करीब ६ः३० मा बच्चा बिरामीको पक्षलाई बुझाइएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

अस्पतालले मृत भनी पठाएकी शिशुलाई फेरि साढे सात बजेतिर अस्पताल भर्ना गरिएको छ । अस्पतालको एनआइसियूमा राखेर अक्सिजन र अन्य औषधी दिएर उनको उपचार भइरहेको छ । ‘बच्चालाई भेन्टिलेटरको आवश्यकता हुने भनी बालरोग विशेषज्ञहरूबाट राय पेश भएको । भेरी अस्पतालमा बच्चाहरूको भेन्टिलेटरको लागि सोधपुछ गर्दा उपलब्ध नभएको तर अस्पतालमा उपलब्ध हुने हरसम्भव उपचार गराउन अस्पताल प्रयासरत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रिम्याच्युर बच्चाहरूमा पुर्वानुमान गर्न गाह्रो हुने शारिरिक अवस्थाको कारणले गर्दा हुन पुगेको घटना हामी सबैको निम्ति पाठ हुन पुगेको छ ।’ आफन्त तथा सरोकारवालाहरुले भने उपचारमा लापरबाही गर्ने डाक्टर तथा कर्मचारीहरुलाई कारबाही हुनुपर्ने बताएका छन् ।

प्रकाशित मितिः शनिबार, भदौ २८, २०७६     7:37:54 AM  |