नेकपाका कार्यकर्ताद्वारा बाँकेकी सभापति किरण कोइरालामाथि आक्रमण, आक्रमणबाट हात भाँचियो



कोहलपुर ।

नेपाली कांग्रेसको जागरण अभियानमा कार्यक्रम गरिरहेको बेलामा नेकपाका कार्यकर्ताद्वारा बाँकेकी सभापति किरण कोइरालामाथि आक्रमण गरेको छ । नेपाली काँग्रेसले खजुरामा आयोजना गरेको हिमाल, पहाड, तराई–मधेश जागरण अभियानअन्तर्गत बिहीबार खजुरामा आयोजना गरेको सभामा नेकपाका कार्यकर्ताको आक्रमणमा परी कोइरालाको हात भाँचिएको नेपाली कांग्रेसले जनाएको छ ।

खजुरास्थित नेपाल रेड्क्रस सोसाइटीको सभा हलमा आयोजित सभामा नेकपाबाट विजयी खजुरा गाउँपालिका १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा नेकपाका कार्यकर्ताले आक्रमण गरेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले वडा अध्यक्ष मल्लको निर्देशनमा स्थानीय नेताहरू मुमबहादुर ओली, सुनिल, पारस मल्ल, निमबहादुर ओली, निर्मल खत्री र लोके भन्ने नाम नखुलेको ब्यक्तिले आक्रमण गरेको आरोप लगाएको छ ।

नेपाली कांग्रेसका जागरण अभियानलाई विथोल्ने गरी गरिएको आक्रमण प्रति नेपाली कांग्रेसले खेद ब्यक्त गर्दै आक्रमणमा सहभागीलाई कारवाहीको माग गरेको छ । आक्रमण गर्नेलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन माग गर्दै काँग्रेसले नेता तथा कार्यकर्ताको जीउ, धनको रक्षाको माग समेत गरेको छ । ‘सरकारको आडमा भएको आक्रमणको घोर भत्सर्ना गर्दै आक्रमणमा सहभागीलाई हदैसम्मको कारवाहीको माग गर्दछौँ,’ सभापति कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २७ गते शुक्रबार