‘इन्जिनियरहरुको गलत प्रवृत्तिका कारण राज्य बदनाम’



कोहलपुर ।

संघिय सरकारका सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईले इन्जिनियरहरुको गलत प्रवृत्तिका कारण राज्य बदनाम बनेको आरोप लगाएका छन् । बाँकेको नेपालगञ्जमा बिहीबार डिप्लोमा इन्जिनियर्स एशोसिएसन (डिन) नेपालको केन्द्रीय सभालाई सम्बोधन गर्दै उनीले उक्त कुरा बताएका हुन् । मन्त्री राईले राज्यलाई दिग्भ्रमित पार्न खोज्ने इन्जिनियर विरुद्ध सरकार चुप लागेर नबस्ने चेतावनी दिए । इन्जिनियरहरुले गलत डिजाइन गर्ने र गुणस्तरहीन काम भए त्यसको दोष उल्टै राज्यलाई दिने गरेको भन्दै उनले आक्रोश पोखे । शहरी विकास मन्त्रालयले अव्यवस्थित वस्ती र शहरलाई व्यवस्थित गर्ने काममा लागि परेको बताउँदै मन्त्री राईले निर्माण व्यवसायीले कामको जिम्मा लिए अनुरुप समयमै नसके कारवाही गर्ने चेतावनी दिए ।

‘कुनै पनि निर्माण योजनामा त्रुटी हुनु प्राविधिकको दोष हो’ उनले भने, ‘प्राविधिकले सरकारलाई दोष दिने र सरकारले प्राविधिकलाई दोष दिने होईन, हामी दायित्व लिन तयार छौं, तर प्राविधिकले समयमै सल्लाह दिनुप¥यो अरुलाई दोष दिएर उम्किन मिल्दैन ।’ निर्माण योजनाको डिजाईन र अनुगमनमा कमजोरी नगर्न आग्रह गर्दै मन्त्री राईले काममा त्रुटी गर्ने प्राविधिक तथा ठेकेदारहरुलाई सरकारले कडा कारवाही गर्ने चेतावनी दिए । ‘प्राविधिकहरुको सहयोग र समन्वय विना सरकारले केही गर्न सक्दैन’ उनले भने, ‘इन्जिनीयर र सरकारको सम्वन्ध नङ र मासुको जस्तैै हो, सहयोग र समन्वयविना सरकारले कल्पना गरेको समृद्ध नेपाल बन्न सक्दैन ।’ विगतमा प्राविधिकहरुको गलत सल्लाहका कारण विभिन्न ठूला योजना घोषणा भए पनि कार्यान्वयन गर्न समस्या परिरहेको मन्त्री राईले दाबी गरे ।

अब निर्माण व्यवसायीहरुले ठेक्का पारेर मोविलाइसेन भन्दै २० प्रतिशत रकम लिएर अन्य काममा लगाउने दिन गइसकेको उनले बताए । डिनका कार्यकारी प्रमुख कानेश्वर प्रसाद सिंहको अध्यक्षतामा भएको कार्यक्रममा डिनका पूर्वअध्यक्ष राजेन्द्र प्रसाद अधिकारी, डिनका सह–अध्यक्ष कमल अर्याल, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । डिप्लोमा इन्जिनियर्स एशोसिएसन (डिन) नेपालको केन्द्रीय सभा नेपालगञ्ज घोषणापत्र जारी गर्दै आज सकिने छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २७ गते शुक्रबार