कर्णाली प्रदेश सरकारले प्रदेशमा लगानी गर्न निजी क्षेत्रलाई पटकपटक आह्वान गर्छ । तर कर्णाली प्रदेश देशका सात प्रदेशमध्ये सबैभन्दा कम उद्योग कलकारखाना भएको प्रदेशमा चिन्निछ । यस प्रदेशमा अन्य प्रदेशहरुको ठूला उद्योगहरु त झन् छैनन् भन्दा पनी हुन्छ । गत आर्थिक वर्षमा भने मझौला तथा ठूला उद्योग दर्ता शून्य देखिएको छ । आर्थिक बर्ष २०७५÷७६ मा प्रदेशमा एउटा पनि मझौला र ठूला उद्योग दर्ता नभएको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बताएको छ । प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरुले कर्णालीमा लगानीकर्तालाई नाफा नउठेसम्म कर नलगाउने बताउँदै लगानीको लागि आह्वान गर्दै आएका छन् । तर यहाँ ठूला उद्योगीहरुको आकर्षण बढ्नुको साटो घट्दो क्रममा छ ।
कर नलगाउने निति मात्र प्रदेश सरकारले बनाउँदा उद्योगी व्यवसायीहरुको आकर्षण हुने देखिदैन । प्रदेश सरकारले यहाँ सम्भावना भएका जलविद्युत् र जडीबुटीजस्ता क्षेत्रमा लगानी गर्न उद्यमीलाई आग्रह गर्दै लगानीको पूर्ण सुरक्षा हुने बताउँदै आएको छ । पूर्वाधारको कमी र भौगोलिक समस्याले गर्दा लगानीकर्ता कर्णालीमा लगानी गर्न आकर्षित नभएको बताइन्छ । यसअघि हुम्ला, डोल्पा र मुगु जिल्लामा भएका केही जडीबुटी सम्बन्धीका उद्योगहरू बन्द भइसकेका छन् । कर्णाली प्रदेश सरकारले उद्योग खोल्न सेवा सुविधा दिने बताइरहँदा भएका उद्योगहरु समेत बन्द हुनु विम्डवना हो । प्रदेश सरकारले सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुको एक सामुदायिक वनमा ६ हेक्टर बराबरको जग्गा भोगाधिकार गर्ने भनेर संघीय सरकारसँग माग गरिसकिएको अवस्था छ ।
अहिले कर्णालीमा ५ हजार ७८८ साना उद्योग दर्ता भएका छन् । यीमध्ये ३ हजार ३९७ घरेलु तथा साना उद्योग, ४२६ लघु उद्योग र वाणिज्यतर्फ १ हजार ९६५ रहेका छन् । प्रदेशमा दर्ता भएका उद्योगमध्ये घरेलु तथा सानाको संख्या धेरै र लघु उद्योगको न्यून देखिन्छ । सुर्खेतमा सबैभन्दा धेरै र मुगुमा सबैभन्दा कम लघु उद्योग दर्ता छन् । वाणिज्यतर्फ सबैभन्दा धेरै दैलेख र सल्यानमा उद्योग दर्ता भएका छन् भने सबैभन्दा कम सुर्खेत, मुगु र हुम्लामा रहेका छन् । सरकारले उद्योग व्यवसायीहरुलाई विभिन्न ललिपप फाल्नुभन्दा पनी प्रदेशका विभिन्न ठाउँमा ठूला औद्योगिक क्षेत्रको स्थापना र त्यहाँ पुर्वाधार निर्माण गर्नु आवश्यक छ । त्यसो हुनसके मात्र कर्णालीमा ठूला उद्योगहरु स्थापना हुन सक्छन् ।