30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

सुर्खेत गौहत्या प्रकरण, बाँचेका चौपाया नेपालगञ्ज फिर्ता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ १५, २०७६  

दैलेख लैजान भन्दै रातारात सुर्खेतको कटकुवा जङ्गलमा बेवारिसे छाडिएका गाईको उद्वार गरी पुनः नेपालगञ्जतर्फ पठाइएको छ । स्थानीय प्रशासनको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई शनिबारदेखि नेपालगञ्ज फिर्ता पठाउन थालेको हो । जिल्ला प्रहरी सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले १७९ वटा गाई नेपालगञ्ज पठाइसकेको जानकारी दिए । उनका अनुसार घाइते रहेका कतिपय गाई–गोरुको औषधि उपचार गरी फिर्ता पठाइने छ । जंगलमा छाडिएका अरु गाई पनि खोज्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

नगरपालिकाको पशु स्वास्थ्य शाखाका चिकित्सकको टोलीले शुक्रबारबाट नै मृत भेटिएका गाईको मुचुल्का तथा शव परीक्षण गर्नुका साथै घाइतेको उपचार गरिरहेका छन् । सुर्खेत प्रहरीका अनुसार मृत गाई–गोरुको संख्या ३० पुगिसकेको छ । परीक्षण रिपोर्टपछि मात्र गाईको हत्या भए नभएको यकिन हुने प्रहरीको भनाई छ । जिल्ला प्रशासन कार्यालय बाँकेको पत्रअनुसार नेपालगञ्ज उप–महानगरपालिकाको काञ्जीहाउसबाट दैलेखको शिरस्थान धार्मिक क्षेत्रमा पठाउने भनी गाईगोरू पठाइएको थियो ।  तर शिरस्थान क्षेत्र पर्ने दैलेखको भैरवी गाउँपालिकाले भने आफ्नो तर्फबाट लिखित मौखिक कुनै माग नगरेको प्रतिक्रिया दिएको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले आफू वडा कार्यालय र मन्दिर व्यवस्थापन समितिले नेपालगञ्ज उपमहानगरपालिकासँग त्यस्तो कुनै माग नगरेको प्रष्ट पारे । ‘यहाँ त्यति ठूलो संख्यामा गाई–गोरु पाल्न सकिने ठाउँ छैन्, भ्रमपूर्ण प्रचार गरिएको छ, शिरस्थान क्षेत्रका लागि कुनै माग भएको छैन्’ उनले भनेका छन् ।

भैरवी गाउँपालिका–१ को कार्यालय र शिरस्थान मन्दिर व्यवस्थापन समितिले पनि आफूहरुले गाई–गोरुको माग नगरेको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । शुक्रबार बिहान ३ बजेतिर वीरेन्द्रनगर वडा नं– १४ पर्ने कटकुवा जङ्गलमा २९१ गाई–गोरु अलपत्र अवस्थामा छाडिएको थियो । कतिपय गाई–गोरु भीरबाट खसालिएको अवस्थामा भेटिएकाले स्थानीयवासीले ‘गौहत्या’ भन्दै घटनामा संलग्नलाई कानूनी कारवाहीको माग गरेका छन् । घटनाको विरोधमा शनिबार मङ्गलगढी चोकबाट शुरु भएको ¥याली वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले गाईलाई दानवीय हिसाबले भीरबाट खसालिएको भन्दै घटनाको निन्दा गरे ।

‘एउटा प्रदेशका छाडा पशु चौपाया अर्को प्रदेशको अनुमति बेगर ल्याएर छाडियो, नेपालगञ्ज उप–महानगरपालिकाको गम्भीर लापरबाही हो । दोषी जुनसुकै भए पनि कारवाही गर्न सरकारले हिम्मत गरोस्, उनले भनेका छन् । यसैबिच नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलका अनुसार दैलेखका लागि ल्याइएका गाईहरू नगर प्रहरीको नेतृत्वमा ल्याइएको थियो । नगर प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा ल्याइएका गाईगोरु बीच बाटोमा मरेपछि बाटोमै फालिएको हुन सक्ने उनले बताए ।

‘छाडा पशुचौपाय व्यवस्थापनका लागि दैलेखको श्रीस्थान लैजाने भनेर ल्याइएको हो, बीचमै गाईगोरु मरेपछि स्थानीयले थाहा पाए विरोध गर्लान् भन्ने सोचेर हाम्रो यहाँको टोली बाटोमै छोडेर फर्किएको रहेछ,’ उनले भने । सुर्खेतको वीरेन्द्रनगरदेखि १४ किलोमिटर उत्तरमा दैलेख सदरमुकाम जाने सडक उकालो छ । कटकुवा जंगलको सडक छेउमा ठूलै भीर त छैन तर चौपाया भने त्यहाँबाट हिँड्न सक्दैनन् । बिहीबार राति ट्रक चालकले ती गाईगोरुलाई भीरमा खसालिदिएका थिए ।

वीरेन्द्रनगरको प्रवेश क्षेत्र सुब्बाकुना प्रहरी चेक पोष्टमा बिहीबार राति १२ बजेतिर आठ वटा गाईगोरु बोकेका ट्रक इन्ट्री भएको सहायक प्रहरी निरीक्षक प्रमोदसिंह ठकुरीले जानकारी दिए । तीमध्ये ना ६ ख ९९०५, ९१७७, ४९४९ र ना ५ ख १०१५ नम्बरका ट्रक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् । ट्रक चालकले दिएको बयानअनुसार यी गाईगोरु नेपालगञ्ज उपमहानगरपालिकाले पठाएको हो ।

नेपालगञ्जका सडकमा छाडा छोडिएका गाईगोरुलाई स्थानीय काञ्जी हाउसमा राखिएको थियो । ‘छाडा पशुचौपाया व्यवस्थापनका लागि दैलेखको श्रीस्थान लैजाने भनेर लिइएको हो, बीचमै गाईगोरु मरेपछि स्थानीयले थाहा पाए विरोध गर्लान् भन्ने सोचेर हाम्रो यहाँको टोली बाटोमै छोडेर फर्किएको रहेछ,’ उनले भने । बाटोमा अरू कसैले गाईगोरु कसैले पाल्न चाहे दिने नत्र दैलेख लैजाने गरी नेपालगञ्जबाट लगिएको पौडेलले जानकारी दिए । ‘काञ्जी हाउसमा धेरै भएका गाईगोरु दैलेख, सुर्खेत, जाजरकोटलगायत पहाडमा पाल्न दिने गरेका छौं,’ उनले भने, ‘यसपटक पनि सुर्खेत उपत्यकाभन्दा माथि कसैले पाल्न चाहेमा दिने र दैलेख पु¥याउने भनेर लिइएको हो, के सोचर हाम्रो टोली फर्कियो, थाहा भएन ।’

नेपालगञ्ज उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलसमशेर राणा मेयर छन् । हिन्दुवादी राप्रपाले आफ्नो चुनाव चिन्ह र झन्डामै गाईको तस्बिर राखेको छ । पशुपंक्षीसम्बन्धी कसुरअन्तर्गत कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कार्य गरे तीन वर्षसम्म कैद हुने कानुन छ । यस्तै गाई वा गोरुलाई अंगभंग बनाएमा ६ महिना कैद र अन्य चोट पु¥याएमा ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था ऐनमा छ ।

प्रकाशित मितिः आइतवार, भदौ १५, २०७६     9:36:55 AM  |