15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

गाउँका सिंहदरबारमा सवारी मोह, जनताको कर माथि मनपरी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६  

जुम्ला ।

जुम्लाका आठ वटै स्थानीय तहका प्रमुख र अध्यक्षरुहले दोहोरो सुविधा लिईरहेको पाईएको छ । एक नगरपालिका र सात गाउँपालिकाका प्रमुख÷अध्यक्षहरुले दोहोरो सुविधा लिएको पाईएको हो । जिल्लाका प्राय जनप्रतिनिधि स्थानीय तहमा आएपछि उनीहरुको पहिलो प्राथमिकता भनेकै सवारी साधन प्रति मोह देखिएको छ । अहिले जुम्लाका जनप्रतिनिधि करीब ८३ देखि ५४ लाखसम्मका सवारीसाधन प्रयोग गर्दै आएका छन् । स्थानीय तहका प्रमुख÷अध्यक्ष र प्रशासकीय अधिकृतले आन्तरिक स्रोत जुटाई सवारी साधनको सुविधा पाउने उल्लेख भएपनि जनताको कर माथि नै उनीहरुले मनपरी गरिहेका हुन् ।

तर जुम्लाका स्थानीय तहमा आन्तरिक स्रोतमा कुनै आम्दानी गरेका छैनन् । स्थानीय तह वर्षेनी राजस्व संकलनमा असफल देखिएका छन् । सवारी साधान प्रयोग गर्नेमा स्थानीय तहमा प्रमुखदेखि वडाध्यक्ष सम्मले सरकारी सवारी साधन प्रयोग गरेको पाईएको हो । चन्दननाथ नगरपालिकाका जनप्रतिनिधि आएपछि नगर प्रमुख कान्तिका सेजुवालका लागि ८३ लाखको नयाँ गाडि खरिद गरिएको छ, भने उपप्रमुख अप्सरादेवी न्यौपानेका लागि पहिले नै नगरपालिकाले खरिद गरिएको ३६ लाखको सवारी साधन रहेको नगरपालिका सूचना अधिकारी ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए । २ मंसिर २०७५ मा चन्दननाथ नगरपालिकाको कार्यालय परिसरमा राखिएको गाडीमा अज्ञात समुहले आगजनी गरेको थियो । नगरपालिका १ र ५ नम्बर वडाका अध्यक्षहरु २ लाख ५० हजारमा पल्सर बाईक चढ्छन् । बाकीं वडाका अध्यक्षले आफ्नो निजी मोटरसाईकल प्रयोग गरे मार्फतमा प्रतिमहिना ५ लिटरका दरले पेट्रोल खर्च लिने गरेको सूचना अधिकारी बुढ्थापाले जानकारी दिए ।

त्यस्तै, कनकनसुन्दरी गाउँपालिका अध्यक्ष नरविर रावत र उपाध्यक्ष उर्मिला खत्री ४३ लाख मुल्यको स्कार्पिया कार चढ्छन् । कनकासुन्दरीका आठ वटै वडाका अध्यक्ष र सचिवहरुले २ लाख ५० हजारका दरले प्रति मोटर साईकल प्रयोग गर्दै आएका छन् । जनप्रतिनिधिमा सवारी साधान यति धेरै मोह भन्ने राजधानीको प्रश्नमा अध्यक्ष रावतले कामको सिलसिलामा आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले सवारीका साधन खरीद गरिएको बताए । यस्तै सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल र उपाध्यक्ष जन्नकन्या खत्रीले चढ्ने कारको मुल्य ५५ लाखको छ । सूचना अधिकारी धर्मेन्द्र शर्माका अनुसार सबै वडाका अध्यक्षहरुले १ सय ५० सिसिको पल्सर मोटर साईकल प्रयोग गरिहेका छन् । तर ५ नम्बर वडाका अध्यक्षले प्रयोग नगरेको सूचना अधिकारी शर्माले बताए । उनले गाउँपालिका संग यस अघि सवारी साधनको रुपमा घोडा मागेका थिए । आफ्नो सेवा सुविधाका लागि नभई जनप्रतिनिधिले गाउँपालिकाको धेरै काम गर्नुपर्ने र जिल्ला र प्रदेशसम्म पनि काम गर्न जानुपर्ने भएकाले बाध्यताले प्रयोग गर्नु परेको अध्यक्ष देवलसिंह रावलले बताए । तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगी लागि पूर्व सभामुकाम सुवास नेम्वाङ चढ्ने गाडि गाउँपालिकाले मर्मत खर्च ६ लाख गरेर स्कार्पियो गाडी केही महिना अघि खरिद गरिएको छ । उपाध्यक्ष विष्णु बुढा ३ लाख २० हजारको रेसा कम्पनीको स्कुटर प्रयोग गर्छिन् ।

उपाध्यक्ष बुढाले ९ वटै वडा अध्यक्षहरुले गाउँपालिकाले खरिद गरेको पल्सर मोटर साईकल प्रयोग गरिहेको जानकारी दिईन् । त्यसैगरी, तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने, उपाध्यक्ष गंगादेबी उपाध्याय देखी आठ वटै वडाका अध्यक्षहरु दुई लाख ४० हजार बराबरको मोटरसाइकल खरीद गरिएको तातोपानी गाउँपालिका सूचना अधिकारी ऋषिकेश उपाध्याय बताउँछन् । भने जिल्लाका अन्य पातारासी,गुठिचौर,हिमा गाउँपालिकाले अध्यक्ष र उपध्याक्ष र वडा अध्यक्ष लाई २ लाख बराबरका मोटरसाईकल खरिद प्रयोग गरेका छन् । जनप्रतिनिधिका लागि सवारीसाधन आवश्यक भएपनि आर्थिक स्रोतको आँकलन नगरी जनताबाट उठाएको करबाट बढी मूल्यको सवारीसाधन खरीद गर्दा नागरिकबाट उनीहरू आलोचित पात्र भएका छन् ।

स्थानीय उपेन्द्र प्रसाद न्यौपानेले जनप्रतिनिधिहरुको सवारी मोह देख्दा गाउँ गाउँमा सिंह दरबार नभई सिंहहहरुको मात्रै आगमन भएको बताए । उनका अनुसार आफुमात्र नभई आफ्ना आसेपासे र नीजि प्रयोजनका लागि समेत सरकारी गाडी प्रयोग हुने गरेका छन् । उता जनतालाई सेवा प्रवाह भन्दा पनि विलासी जिवन शैलीका उद्देश्यले गाडि र मोटरसाईकल फेसनका रूपमा प्रयोग गरेका नेपाल पत्रकार महासंघका शाखा जुम्लाका अध्यक्ष बरम बहादुर महतको ठहर छ । ‘जनताको सेवा गर्नको लागि त एम्बुलेन्स,दमकल किन्नु पर्ने हो’ उनले भने, ‘जनप्रतिनिधिले आफ्नो घरमा मोटरसाईकल थन्काएर सरकारी गाडी चढी नै चढि रहेका छन् । सरकारी सवार साधनको मनपरी प्रयोग बढेको गुनासो बढ्न थालेपछि जिल्ला ट्राफिक कार्यालय जुम्लाले बेला बेलामा दर्जनौ मोटरसाईकल जफत गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडे पनि जनप्रतिनिधिहरुले जनप्रतिनिधि तथा कर्मचारीले मनपरी प्रयोग गरिहेको पाईएकोले नियमनको लागि कडाई गरिएको बताईन् ।

प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६     9:19:08 AM  |