29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

प्रदेश पाँचका ९ स्थानमा उपनिर्वाचन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन २३, २०७६  

कोहलपुर ।

पाँच नम्बर प्रदेशका ९ स्थानमा आउँदो मंसिर १४ गते उपनिर्वाचन हुने भएको छ । केही दिनअघि मात्र विभिन्न कारणले रिक्त रहेका पदहरुमा मंसिर १४ गते उपनिर्वाचन गर्ने सरकारले निर्णय गरेको थियो । प्रदेशमा ८ स्थानीय तहका वडा अध्यक्ष पदका लागि र एक प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन गइरहेको हो । बाँके कोहलपुर नगरपालिका वडा नम्बर ६, दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६, रोल्पा थवाङ गाउँपालिका वडा नम्बर १, प्युठान ऐरावती गाउँपालिका १ र २, प्युठानकै प्युठान नगरपालिका २, अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ र गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ६ मा अध्यक्ष पद रिक्त रहेका कारण उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको  छ ।

त्यस्तैगरी दाङ क्षेत्र नम्बर ३ को २ मा प्रदेश सांसद उत्तरकुमार वलीको सवारी दुर्घटनामा परि निधन भएपछि त्यहाँ पनी उपनिर्वाचन हुनेछ । निर्वाचन आयोगका अनुसार मंसिर १४ गते नै कास्की क्षेत्र नम्बर १ बाट संघिय सांसद एक, बाग्लुङ क्षेत्र नम्बर २ को २ प्रदेशसभा र भक्तपुरको क्षेत्र नम्बर १ को १ मा एक एक जना प्रदेश सांसदको पद खालि रहेकाले चुनाब हुनेछ । त्यसैगरी, पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष र हुम्लाको खुर्पुथान गाउँपाकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन गर्नुपर्ने छ ।

संघमा १, प्रदेशमा ३, स्थानियमा ४६ पद गरि ५० स्थानमा लागि निर्वाचनको तयारी भएको निर्वाचन आयोगले जनाएको छ । ४१ वडा अध्यक्ष, ३ गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, ३ प्रदेससभा सदस्य र एक जना संघिय सांसदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुने स्थानमा केही जिल्ला समन्वय समितिमा गएका कारण पद खाली भएको हो भने अन्यको मृत्यु भएपछि खाली भएको हो । सरकारले उपनिर्वाचनको मिती घोषणा गरेसँगै निर्वाचन आयोगले तयारी थालिसकेको जनाएको छ । उपनिर्वाचन हुने स्थानहरुमा मतदाता नामावली संकलनको काम समेत बन्द भइसकेको छ । उपनिर्वाचन हुने भएसँगै राजनितिक सरगर्मी समेत सुरु हुन् थालिसकेको छ । विभिन्न राजनितिक दलहरु उम्मेदवारहरु छनौट जुटेका छन् ।

प्रकाशित मितिः बिहिबार, साउन २३, २०७६     9:26:28 AM  |