सुर्खेत ।
कर्णाली प्रदेशका अधिकांश प्रहरी कार्यालयहरु भवनविहीन भएका छन् । आफ्नै भवन नहुँदा चर्को रकम तिरेर अधिकांश प्रहरी कार्यालय भाडामा बस्ने गरेका छन् । कर्णाली प्रदेशका १० जिल्लामा रहेका नेपाल प्रहरीका १८९ कार्यालयमध्ये ८६ कार्यालय अरुको घरमा भाडा तिरेर बसेको नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए । जोशीका अनुसार जाजरकोटमा १३, रुकुम पश्चिममा १२, दैलेखमा १०, कालीकोट र हुम्लामा नौरनौ, सुर्खेतमा आठ, सल्यानमा आठ, डोल्पामा छ, मुगुमा छ र जुम्लामा चार प्रहरी कार्यालय आफ्नो भवन नहुँदा महङ्गो रकम तिरेर भाडामा बसेका छन् ।
७४ लाख भाडामा खर्च
कर्णाली प्रदेशमा नेपाल प्रहरीका विभिन्न कार्यालयको कार्यालय व्यवस्थापनका लागि वार्षिक झण्डै ७४ लाख बढी रकम भाडामा खर्च हुने गरेको छ । कार्यालय सञ्चालनका लागि आफ्नो भवन नहुँदा कर्णाली प्रदेशका विभिन्न प्रहरी कार्यालयले वार्षिक ७३ लाख ८० हजार ८५२ बढी रकम भाडामा मात्र खर्च गर्ने गरेको प्रहरी नायब महानिरीक्षक जोशीले जानकारी दिए । आफ्नो नाममा भवन नहुँदा कर्णाली प्रदेशअन्तर्गत सुर्खेतमा १९ लाख ९३ हजार १५२, रुकुम १० लाख ६२ हजार ६७२, जाजरकोटमा सात लाख ३७ हजार २०८, सल्यानमा सात लाख २० हजार, कालीकोटमा छ लाख ६२ हजार ८८ घरभाडामा भुक्तानी गर्ने गरेको जोशीले जानकारी दिए ।
त्यस्तै दैलेखमा पाँच लाख ७९ हजार ७२०, हुम्लामा पाँच लाख ६३ हजार ४०, मुगुमा चार लाख १० हजार ४००, डोल्पामा तीन लाख ९८ हजार ५३२ र जुम्लामा दुई लाख ५४ हजार ४० भाडावापत वार्षिकरूपमा भुक्तानी गर्ने गरिएको उनले बताए । आफ्नो वार्षिक भाडाको रकमले नपुग्दा स्थानीय तह तथा अन्यले केही प्रहरी चौकीको भाडा तिरिदिने गरेको उनको भनाइ छ । जनतासँग प्रत्यक्षरूपमा जोडिएको नेपाल प्रहरी नै भवन अभावमा बस्नुपर्दा कार्यसम्पादनमा असर पर्ने उनले बताए । सामान्यतया खाने, बस्ने, शौचालयलगायतका आधारभूत कुरा परिपूर्ति नहुँदा प्रहरीलाई दैनिक कार्यसम्पादनमा असर पर्ने गरेको उनको भनाइ छ । ‘प्रदेशको आफ्नो जग्गा छैन, जग्गा प्राप्तिका लागि पहल गरिएको छ, जग्गा प्राप्ति भएमा भवन निमार्णको पहल गरिनेछ’, उनले भने । आफ्नो नाममा जग्गा भए पनि कर्णालीका अधिकांश प्रहरी चौकीहरुले बजेट अभावमा भवन बनाउन सकेका छैनन् ।
६ वटा कार्यालय प्रदेश ५ बाट सञ्चालित आफ्नो प्रदेशमा भवन नहुँदा कर्णाली प्रदेशका आधा दर्जन कार्यालय प्रदेश बाहिर सञ्चालन भएका छन् । प्रहरीका महत्वपूर्ण कार्यालय भवन अभावमा प्रदेश नं ५ को नेपालगञ्जबाट सञ्चालन हुन बाध्य छन् । कर्णाली प्रदेशको प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी दङ्गा नियन्त्रण गण, सङ्घी प्रहरी एकाइ कार्यालय, प्रदेश प्रहरी कुकुर शाखा, प्रदेश प्रहरी सवारी शाखा र प्रदेश प्रहरी भण्डार शाखा नेपालगञ्जबाट सञ्चालन भएको प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक जोशीले जानकारी दिए । रासस ।









प्रतिक्रिया दिनुहोस्