दाङ ।
तुलसीपुरका सञ्चार उद्यमी हेमराज धितालको हत्या भएको ९ बर्ष पूरा भएपनी अझैसम्म दोषि पत्ता लाग्न सकेका छैनन् । तुलसीपुरबाट सञ्चालित रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष धितालको हत्या भएको सोमबार नौ बर्ष पूरा भइसक्दा समेत हत्याको सुईको समेत प्रहरीले पाउन सकेको छैन । तत्कालिन संबिधान सभाको चुनाबको प्रचारप्रसार गरेर फर्कने क्रममा २०६७ साल साउन ६ गते धितालको हत्या भएको थियो ।
कांग्रेसको चुनाब प्रचार सकेर फर्कने क्रममा राप्ती लोकमार्ग अन्र्तगत तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हेमनगरमा अज्ञात समुहले गोली हानी उनको हत्या गरेका थिए । त्यही दिनलाई सम्झेर प्रत्येक बर्ष साउन ६ गते देवीप्रसाद धिताल (हेमराज) प्रतिष्ठानले कार्यक्रमको आयोजना गर्ने गर्दछ । कार्यक्रम धितालका परिवार तथा आफन्तलाई पुरिन थालेको घाउलाई कोट्याउनु भन्दा कुनै उपलब्धी भएको छैन् । हेमराजको हत्या भएको केही दिनमा नै प्रहरीले ९८ प्रतिशत अनुसन्धान पुरा भएको बताएको थियो, तर त्यही बाँकी दुई प्रतिशतमा अनुसन्धान अड्किएको छ ।
अहिले पनी त्यही दुई प्रतिशत अनुसन्धानको प्रतिक्षामा रहेका छन्, आफन्तहरु । धितालकी श्रीमती मञ्जु धितालले गहभरी आँसु चुवाउदै भनिन् ‘हामीले उहाँलाई गुमाएको नौ बर्ष भयो, तर अझै पनि हत्यारा पत्ता लाग्न सकेको छैन् ।’ उनले यति भनिरहदा प्रतिष्ठानले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सहभागिहरु भावविहल भएका थिए । ‘१० दिन, एक महिना भन्दाभन्दै ९ बर्ष बितिसक्यो, प्रहरीले हामी घटनाको सत्यतथ्य पत्ता लगाउने कार्यमा अन्तिम अबस्थामा पुगिसकेका छौं, भन्नुहुन्थ्यो‘ उनले भनिन‘ तर अहिलेसम्म पनि पत्ता नलाग्दा हामी परिवारलाई थप पीडा भएको छ ।’
हत्या बिषयमा आफुहरुले अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । ‘हामीले अहिले नै कसैलाई पनि तँ अपराधी होस्, भनेर भन्न सक्ने अबस्था छैन्’ उनले भने ‘हामीले प्रमाणाका आधारमा भन्नु पर्छ, यस बिषयमा हामीले थप अनुसन्धान गर्ने छौं ।’
घटनामा साक्षी कोही पनि नभएको र घटनाको अनुसन्धान गर्ने आधार भनेको आर्थिक कारोबार र शरिरमा रहेको बन्दुकको गोली नै त्यसको प्रमाण भएको भन्दै यसमा केही समयपछि अनुसन्धान गर्ने बताए । उक्त अनुसन्धानको फाईल पनि २०७४ साल माघमा हेडक्वाटरमा पुगिसकेको प्रहरी प्रमुख पाण्डेको भनाई छ । धितालको मृत्युभएको दिनमा चर्का–चर्का भाषण गर्न थालेको ९ बर्ष बितेपनि हत्यारा पत्ता नलाग्नु दुखद पक्ष भएको प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले बताए । उनले यस घटनाका दोषीलाई पहिचान गरि कारवाहीका लागि सरकारी पक्षबाट आबश्यक पर्ने जनशक्ति खटाउन पहल थाल्ने बताए ।
‘यदि जनशक्ति अभाबले अनुसन्धानलाई समस्या भएको हो भने म जनशक्ति ब्यबस्था गर्न पहल गर्छु’ उनले भने ‘तर यो अनुसन्धानलाई यथाशीघ्र अघि बढाउनु प¥यो ।’ प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद रजौरेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष नवराज लामिछाने, नेकपाका जिल्ला सदस्य पदम केसी, रेडियो तुलसीपुरका स्टेशन म्यानेजर अर्जुन गिरी, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, व्यवसायी दुर्गा भण्डारी, यातायात व्यवसायी नारायण न्यौपानेलगायतले बोलेका थिए ।