जानकीका सबै वडामा प्रसुती गृह



कोहलपुर ।

बाँकेको जानकी गाउँपालिकाका सबै वडाहरुमा प्रसुती गृह सञ्चालन आउने भएका छन् । गाउँपालिकामा रहेका कुल ६ वडामध्ये अहिले तीन वटा वडामा प्रसुती गृह सञ्चालनमा रहेका छन् । आगामी आर्थिक बर्षभित्र बाँकी रहेका तीन वटै वडामा समेत प्रसुती गृह निर्माण गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । गाउँपालिका अन्तर्गत तीन वटा वडामा प्रसुती केन्द्र सञ्चालन नहुँदा सुत्केरी हुन सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने वाध्यता रहेको छ । जानकी गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक दलबहादुर रानाले आगामी आर्थिक वर्षभित्र जानकी गाउँपालिकाका ६ वटै स्वास्थ्यचौकीमा प्रसुति केन्द्र सञ्चालन गर्ने गरी प्रस्ताव पेश गरिएको जानकारी दिए ।

प्रसुती केन्द्र नहुँदा सुत्केरी हुन सदरमुकाम पुग्नु पर्ने वाध्यताको अन्त्य गर्दै महिलालाई वडाकै स्वास्थ्य चौकीबाट सरल र सहज रुपमा सेवा प्रवाह गर्न आफूहरु लागिपरेको उनले बताए । गाउँपालिकाका वडा नं. ३ स्थित इन्द्रपुर स्वास्थ्य चौकी, वडा नं. ४ स्थित खजुराखुद्र्ध स्वास्थ्य चौकी र वडा नं. ५ स्थित बेलहरी स्वास्थ्य चौकीमा प्रसुति सेवा छैन । अहिले गाउँपालिकाले यीनै तीन वटा स्वास्थ्य चौकीमा प्रसुति सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।

खजुराखुद्र्ध स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवम् जानकी गाउँपालिका वडा नं. ४ का अध्यक्ष बिश्रामकुमार बर्माले खजुराखुद्र्धवासीले गाउँकै स्वास्थ्य चौकीमा प्रसुति सेवा केन्द्र सञ्चालनको माग गरिएको बताए । खजुराखुद्र्ध स्वास्थ्य चौकीमा वार्षिक करिव दुई सय गर्भवती महिला स्वास्थ्य जाँचको लागि आउने गरेको स्वास्थ्य चौकी प्रमुख मिना वलीले जानकारी दिइन् । गत आर्थिक बर्षको जेठ मसान्तसम्म एक सय ५६ गर्भवती महिलाले नियमित जाँच गराएको उल्लेख गर्दै उनले प्रसुति सेवा केन्द्र सञ्चालन नहुँदा ती महिलाहरु सुत्केरी हुन सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने वाध्यता रहेको बताइन् ।

गाउँपालिका अध्यक्ष रामनिवास यादवले गाउँपालिकाका सवै स्वास्थ्य संस्थामा प्रसुती केन्द्र सञ्चालनको लागि प्रक्रिया शुरु गरेको बताए । ‘खजुराखुद्र्ध स्वास्थ्य चौकीमा भवन बनिरहेको छ, बेलहरीमा मर्मतसम्भार गर्नुपर्ने छ भने इन्द्रपुरमा भवन बनाउनुपर्ने छ ।’ अध्यक्ष यादवले भने, ‘स्वास्थ्य चौकीका भवन र बर्थिङ सेन्टर सञ्चालनको लागि वजेट विनियोजन गरेका छौं, छिट्टै सञ्चालनमा ल्याउन लागिरहेका छौं ।’ गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले स्वास्थ्यका सवालमा गाउँपालिका संवेदनशिल रहेको उल्लेख गरिन् । उनले गाउँपालिकाका सबै स्वास्थ्य चौकीमा छिट्टै प्रसुति सेवा सञ्चालन हुने दाबी गरिन् । महिलाहरुलाई सरल र सहज रुपमा प्रसुति सेवा उपलब्ध गराउने उद्वेश्यका साथ सबै वडामा प्रसुति सेवा सञ्चालनको तयारी थालिएको गाउँपालिकाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन ६ गते सोमबार