नेपालगञ्ज।
उपमहानगरपालिकाले गोविन्द शर्मालाई प्रेस सल्लाहकार चयन गरेको छ । शनिबारको बोर्ड बैठकले उक्त निर्णय गरेको हो । नेपाल पत्रकार महासंघलाई गरिएको सहयोग रकम पछ्र्यौट प्रक्रियामा मुछिएपछि प्रेस सल्लाहकार शुक्रऋषि चौलागाईलाई कामविहीन बनाइएको थियो । त्यसपछि प्रेस सल्लाहकार खाली थियो । नगर प्रमुख मेयर डा. धवलशमशेर राणाले चौलागाईको कामप्रति चित्त नबुझेको सार्वजनिक कार्यक्रमहरुमा बताउदै आएका थिए ।
नेपालगञ्जबाट प्रकाशित हुने लोकप्रिय सन्देशका प्रकाशक र सम्पादक शर्मा गोरखापत्रका बाँके संवाददाता हुन् । प्रेस सल्लाहकारलाई मासिक पन्ध्र हजार दिने निर्णय भएको छ । काम हेरेर पछि बढाउन सकिने भनिएको छ । बोर्ड बैठकले कानूनी सल्लाहकारमा लोकबहादुर शाहलाई निरन्तरता दिएको छ । दुई जना कानूनी सल्लाहकार रहेकोमा एकजनालाई हटाइएको छ । कानूनी सल्लाहकारलाई मासिक २५ हजार दिने निर्णय भएको छ ।