कोहलपुर ।
बाँकेको नरैनापुर गाउँपालिकाका विपन्न विद्यार्थीहरुलाई शैक्षिक साम्रगीहरु वितरण गरिएको छ । प्रदेश ५ सरकारको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत शुक्रबार विपन्न परिवारका बालबालिकाहरुलाई शैक्षिक साम्रगीहरु वितरण गरिएको हो ।
गाउँपालिकाको वडा नं. ६ को जयकिसान माध्यामिक विद्यालयका १ सय ४८ विद्यार्थीहरुलाई शैक्षिक साम्रगी वितरण गरिएको थियो । एक कार्यक्रमका बिच उनीहरुलाई सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी ‘नमुना’ले शैक्षिक साम्रगीहरु वितरण गरेकी थिइन् । कार्यक्रममा बोल्दै उनले आर्थिक रुपमा विपन्न परिवारका बालबालिकालाई विद्यालय जानका लागि प्रोत्साहन स्वरुप शैक्षिक सामग्री र पोषाक वितरण गरिएको बताइन् ।
मुख्यमन्त्री शंकर पोखरेल पहिलो पटक यस क्षेत्रको भ्रमण गर्दा समेत विद्यार्थीको शिक्षा आर्जनका लागि प्रदेश सरकार जस्तो सुकै सहयोग गर्न सरकार तयार रहेको बताउदै सांसद नमुनाले मुख्यमन्त्री समेतको प्राथमिकतामा परेको यस क्षेत्रको शैक्षिक स्तर बृद्धिका लागि यहाँ जनताले र शिक्षा क्षेत्रका सरोकारवालाले तयार पारेका योजनालाई प्रदेश सरकारले सहयोग गर्ने दाबी गरिन् । सांसद नमुनाले नरैनापुरमा आर्थिक अभावका कारण कोही पनी शिक्षाबाट बाहिर हुनु नपर्ने बताउँदै बालबालिकालाई विद्यालयसम्म ल्याउन आफुले जस्तोसुकै तयार गर्न पनी पछि नपर्ने बताइन् ।
यस अघि मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमबाट नरैनापुर गाउँपालिकाका विभिन्न वडाका गरिब ४ हजार किसानहरुलाई प्रतिव्यक्ति १५ केजीका दरले उन्नत जातको विउ वितरण गरिएको थियो । ५ सय जना विद्यार्थीलाई झोला, कापी, कलम र पोसाक वितरण गरिएको सो गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद साहले बताए ।
नरैनापुर गाउँपालिकाका स्तरीय कार्यक्रम संचालक समितिका सदस्य सोहनलाल यादवका अनुसार नरैनापुरमा यो कार्यक्रम लागु हुँदा यहाँका लक्षित वर्गका लागि अति सहयोगी भएको र रकम कम भए पनि यसको परिचालन र व्यवस्था प्रसंसायोग्य रहेको बताए । बाँकेका नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम संचालित रहेको छ ।