बुटवल ।
भारतीय दूतावासको पत्रपछि सरकारले विदेशबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णय फिर्ता लियो, जसको चौतर्फी आलोचना भयो । पूर्वाधार तयार नभएको भन्दै निर्णयबाट पछि हट्नुपरेको सरकारको भनाइ छ । तर, बुटवलमा भने कर्मचारी अभावमा ८ महिनादेखि बन्द विषादी अवशेष द्रूत विश्लेषण इकाइ (प्रयोगशाला) बाट फेरि तरकारी तथा फलफूलको विषादीको नमूना जाँच्न सुरु भएको छ ।
प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयमा दरबन्दीमा रहेका बरिष्ठ बाली संरक्षण अधिकृत रामबहादुर खत्रीलाई प्रदेश सरकारले इकाइको प्रमुखको रुपमा खटाएपछि विषादीको परीक्षण फेरि सुरु भएको हो । कार्यालय प्रमुख खत्रीले मंगलबारबाट विदेशबाट आयात हुने फलफूल तथा तरकारीको नमुना संकलन गरी परीक्षण सुरु गरिएको जानकारी दिए ।
बुटवलमा सञ्चालनमा आएको विषादी परीक्षण प्रयोगशालाले नियमित रुपमा फलफूल तथा तरकारीको नमूना संकलन गरी त्यसको रिपोर्ट केन्द्र सरकारलाई बुझाउने छ । अहिले उक्त इकाइमा खत्री र एकजना कार्यालय सहयोगी मात्रै कर्मचारी छन् । जसले गर्दा काम गर्न कठीन रहेको खत्रीले बताए । ‘एक जना मात्रै कर्मचारीले कसरी काम गर्नु, असाध्यै गाह्रो भएको छ, तैपनि सरकारले खटाएपछि काममा आएको छु,’ खत्रीले भने, ‘सहजरुपमा काम गर्न कम्तीमा पनि तीनजना प्राविधिक सहायक र नायब प्राविधिक सहायक आवश्यक पर्छ ।’
संघीय सरकारले आयातित तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएपनि प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले भने बुटवल र नेपालगंजमा विषादी परीक्षण गर्ने निर्णय गरेको थियो । सोही अनुसार पहिलो चरण्मा बुटवलको प्रयोगशाला पुनः संचालनमा ल्याइएको र नेपालगञ्जको प्रयोगशाला समेत छिटै संचालनमा ल्याउने तयारी गरिएको प्रदेश सरकारकी मन्त्री आरती पौडेलले बताइन् ।
एक वर्षअघि संघीय संरचना अन्तर्गत नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतमा रहेको कार्यालयबाट कर्मचारीहरु समायोजन भइ अन्यत्र गएपछि कर्मचारी अभावमा प्रयोगशाला बन्द भएको थियो । उनी गएपछि उक्त कार्यालय नै बन्द भएको थियो । एकजना कार्यालय सहयोगीले कार्यालय खोल्ने, सरसफाई गर्ने काम मात्रै गर्दै आएकी थिइन् । विदेशबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणको प्रावधानले नेपालका तरकारी किसानले भने खुशी भएका छन् ।









प्रतिक्रिया दिनुहोस्