सुर्खेत ।
गत असार ३ गते हुम्लामा भएको जिप दुर्घटना परी वेपत्ता भएकी खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सीन्धु हमाल (शाही) को शव २२ दिनपछि बुधबार भेटिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तिमगरका अनुसार सर्केगार्ड गाउँपालिका– ४ नागरास्थित कर्णाली नदी किनारमा उनको शव भेटिएको हो । प्रहरीका अनुसार उपाध्यक्ष शाहीको औँठीबाट शवको पहिचान भएको हो। उपाध्यक्षका श्रीमान धिरेन्द्र शाहीले हातको औँठीकै आधारमा शव पहिचान गरेको डिएसपी घर्तीमगरले जानकारी दिए ।
लु १ ज ७६ नम्बरको जिप दुर्घटन हुँदा वेपत्ता भएका चालक मणि शाही, स्थानीय चन्द्र हमाल, नैनसिंह भण्डारी, बसन्ती शाही, नन्ददेवी सिंह, कौरा दमाई र उनका दुई वर्षका छोरा गोकुल सुनार र काठमाडौ थानकोटका मिस्त्री राजु श्रेष्ठ लगायत दश जनाको अवस्था अझै अज्ञात रहेको छ । घटना भएको २४ घण्टापछि सशस्त्र प्रहरी बल कुरिनटारबाट गएको गोताखोर टोलीले खोजेको थियो । तर वेपत्ताहरुको शव भेटाउन सकेको थिएन। शव नभेटिएपछि असार ५ गते आफन्तहरुले कुशको शव बनाएर दाहसंस्कार गरिसकेका छन् ।
सिकारुले गाडी चलाउँदा दुर्घटनामा परेको जिप १६ सीट क्षमताको रहेको थियो । स्थानीय लोकजंग शाहीले हेलिकप्टरबाट त्यहाँ पु¥याएको एउटा मात्रै जिप दुर्घटनापछि उक्त सडक खण्डमा यातायात सेवा स्वतः बन्द भएको छ । गाडी धनी शाहीले खार्पुनाथ यातायात प्रा.लि. मार्फत दैनिक जिप सञ्चालन गर्दै आएका थिए । खार्पुनाथ गाउँपालिका ५ को गाडी बेणु बिसौना र कैलेबालुको बीच खण्डबाट कर्णालीमा खसेको थियो । शव बुधबार नै परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।