कोहलपुर ।
बाँकेमा कोहलपुरमा रहेका उद्योगी व्यवसायीहरुलाई कर तथा लेखा सम्बन्धी पाँच दिने तालिम दिइएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगरपालिका समितिमा आवद्व रहेकालाई तालिम दिइएको हो । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा सुरु भएको तालिम आइतबार समापन भएको थियो ।
नगर उपप्रमुख सञ्जु कुमारी चौधरीले पाँच दिने तालिमको समापन गरेकी थिइन् । तालिममा सहभागी उद्योगी व्यवसायीहरुलाई उनले कर तथा लेखा सम्बन्धी सिकेका कुराहरु व्यवहारमा लागू गर्न आग्रह गरिन् ।
उप–प्रमुख चौधरीका अनुसार परिवर्तित करका दर र दायराबारे जानकारी राख्न र लेखा प्रणालीलाई व्यवस्थित गर्न समेत अनुरोध गरिन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगरपालिका समितिका अध्यक्ष हेम विक्रम विसीले कुनैपनि व्यवसायहरुले कर तथा लेखा सम्बन्धी जानकारी नहुँदा समस्या पैदा हुने गरेको बताए ।
करको ज्ञान र लेखा प्रणालीमा अज्ञानताले जरिवाना तिर्नुपरेको उनको भनाई छ । कर कानुनले निर्दिष्ट गरेका व्यवस्थाहरु परिपालन, कर फाराम भर्दा हुने त्रुटीमा कम, धेरैभन्दा धेरै व्यवसायीलाई करको दायरामा ल्याउन तालिमको उद्वेश्यमा टेवा पुग्ने विश्वास विसीले व्यक्त गरे । तालिममा चार्टर्ड एकाउन्टेन्ट सुदिप पाण्डे र कर सम्बन्धी शिवलाल पाण्डेले प्रशिक्षण दिँदै सचेत हुन सके करमा कुनै समस्या नहुने बताए । तालिममा ४८ जना सहभागिता रहेको
थियो ।