घुससहित दुई पक्राउ



कञ्चनपुर ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुर महेन्द्रनगरका कार्यलय प्रमुखसहित दुईजना घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले कार्यालय प्रमुख उपसचिव अजितकुमार श्रीवास्तव र इन्जिनियर गृष्मा ठगुन्नालाई पक्राउ गरेको हो ।

उनीहरुलाई सेवाग्राहीबाट नगद दुईलाख रुपैयाँ घुस लिदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियारको कार्यालयका सूचना अधिकारी टोपबहादुर बिष्टले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिका–१९ बागफाँटास्थित चौधर नदी नियन्त्रणका लागि गठित उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

अख्तियारले नियन्त्रणमा लिइएका उपसचिव श्रीवास्तवलाई उपभोक्ता समितिका केही व्यक्तिहरुले कालोमोसो दल्ने प्रयाससमेत गरेका थिए । उनीहरुमाथी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार १३ गते शुक्रबार