8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

उल्टा मन्त्र पढेको भन्दै राजापुरमा झाँक्रीको हत्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार १३, २०७६  

बर्दिया ।

बर्दियाको राजापुर नगरपालिका–३ नंगापुरका ५५ वर्षीय जयराम थारुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ पर्नेमा सोही ठाउँका ४९ वर्षीय अजोध्या भनिने दोदलाल थारु रहेका छन् । प्रहरीले उनलाई घरबाट नै पक्राउ गरेको थियो । असार ४ गते राति १२ बजेको समयमा आफ्नै घरमा सुतीरहेको अवस्थामा ५५ वर्षीय जयरामको हत्या भएको थियो ।

ईलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायव उपरीक्षक तिलक भारतीका अनुसार परम्परागत रुढीवादी सोचका कारण जयरामको हत्या गरिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । प्रहरीले हत्यामा प्रयोग गरिएको धारिलो हतियार घाँस टुक्रा पार्ने गरसा समेत बरामद गरेको छ । मृतक जयराम थारुले गाउँमा गुरुवा (धामी–झाँक्री) काम गर्दैआएका थिए ।

गुरुवा गर्ने क्रममा उल्टा मन्त्र पढेर श्रीमती र बुहारीको मृत्यु भएको बयान दोदलाल थारुले दिएको डीएसपी भारतीले जानकारी दिए । एक महिनाको अन्तरालमा श्रीमती र बुहारीको मृत्यु भएपछि आफ्नो समेत पेट फुल्ने समस्या गुरुवाले गराएकोले बदला लिन हत्या गरेको थारुले बताएका छन् । उनीमाथी थप अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, असार १३, २०७६     9:48:16 AM  |