कैलाली ।
एक महिनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि कैलालीको धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द हुने भएको छ । निर्माण कम्पनीले मौसम प्रतिकूल नभए यही जेठ २९ गतेबाट विमानस्थल पुनः सञ्चालनमा आउने जानकारी दिएको छ ।
गत वैशाख २२ गतेबाट उडान सेवा बन्द गरेर विमानस्थलमा धावनमार्ग स्तरोन्नतिका साथै क्षेत्र विस्तारको काम भइरहेको विमानस्थलका प्रमुख तेजबहादुर बुड्थापाले जानकारी दिए । उनका अनुसार विमानस्थलमा पहिलेको भन्दा बढी दलदले माटो निस्किएकाले काम लम्बिएको हो ।
तीन मात्रै ठूला जहाज पार्किङ गर्न मिल्ने विमानस्थलको स्तरोन्नतिपछि चार ठूलै जहाज पार्किङ गर्न सकिने बताइएको छ । मौसमले साथ दिएमा अबका पाँच दिनमा विमानस्थलमा हवाई उडान सञ्चालन हुने गरी काम भइरहेको निर्माण कम्पनी लुम्बिनी, कोषी, न्यौपाने र खड्का, कृष्ण जेभीका इञ्जिनीयर सचिन थापाले बताए ।
उनले वर्षा भएमा विमानस्थल मर्मत तथा स्तरोन्नति कार्य लम्बिने जानकारी दिए । काठमाडौं–धनगढी–काठमाडौं दैनिक पाँच हवाई उडान हुने गरेका थिए । एक महिनादेखि विमानस्थल बन्द हुँदा सुदुरपश्चिम प्रदेशका मानिसहरुलाई काठमाठौ यात्रा गर्नको लागि बाँकेको नेपालगन्ज विमानस्थल आउनुपर्ने अवस्था रहेको छ ।