1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

काँक्रेविहारलाई चिडियाखानाका रुपमा विकास गरिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २३, २०७६  

सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको प्रर्यटकीय स्थल काँक्रेविहारलाई खुल्ला चिडियाखानाका रुपमा विकास गरिने भएको छ । कर्णाली प्रदेश कै प्रमुख प्रर्यटकीय गन्तव्यको रुपमा काँक्रेविहारलाई चिडियाखानाका रुपमा विकास गरिने प्रदेश सरकारले प्रतिबद्धता जनाएको हो । विश्व वातावरण दिवसको अवसरमा काँक्रेविहार क्षेत्रमा वुधवार सरसफाई तथा वृक्षारोपणमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल काँक्रेविहारलाई खुल्ला चिडियाखानाका रुपमा विकास गरिने बताए ।

विश्व वातावरण दिवशको अवसरमा काँक्रेविहार क्षेत्रमा गरिएको सरसफाई तथा वृक्षारोपणपछि संचारकर्मीहरुसंग कुरा गर्दै मुख्यमन्त्री शाहीले पुरातात्विक र ऐतिहाँसिक महत्व बोकेको काँक्रेविहारलाई संरक्षण गरिने बताएका हुन् । ‘काँक्रेविहारमा अहिले रहेको पिकनिक स्थललाई हटाएर व्यवस्थित पार्क निर्माण गर्ने योजनामा छौ’ उनले भने, ‘ऋषि, महर्षिहरुको साधनास्थल रहेको काँक्रेविहारलाई कर्णाली प्रदेशको आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजनामा प्रदेश सरकार छ ।’

स्वच्छ र सफा वातावरण विना मानव जीवनको अस्तित्व संकटमा पर्ने भन्दै मुख्यमन्त्री शाहीले जनचेतना अभिवृद्धिसंगै कानुनको कार्यान्वयन मार्फत सरसफाई तथा स्वच्छताको प्रवद्र्धन गरिनु पर्नेमा जोड दिए । वातावरणको संरक्षण अहिलेको प्रमुख आवश्यकता रहेकोमा जोड दिदै उनले वातावरण संरक्षणमा सबै क्षेत्र गम्भिर बन्नुपर्ने उनले धारणा राखे । विश्व वातावरण दिवसको अवसरमा बुधवार बिहान मुख्यमन्त्री शाहीको नेतृत्वमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय क्लवहरुको सहभागितामा काँक्रेविहार क्षेत्रमा सरसफाई गर्नुको साथै वृक्षारोपण गरिएको थियो ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ २३, २०७६     6:47:03 PM  |