एन्फाको यु–१३ मा बाँकेबाट विपिन



नेपालगञ्ज ।

बाँकेका विपिन थापा एन्फा एकेडेमी आवासीय प्रशिक्षणका लागि छनौट भएका छन् । अखिल नेपाल फुटबल संघले देशभरबाट १३ वर्षमुनिका बालकलाई लक्षित गरेर आवासीय प्रशिक्षण चलाउने नीति अघि सारेको छ । जिल्लाबाट छनौट भएर गएका दश जना बालकमध्ये विपिनमात्रै एन्फा एकेडेमी आवासीय प्रशिक्षणमा छनौट भएका हुन् । खजुराका विपिनले जिल्ला, प्रदेशका धेरै सहकर्मीलाई ‘माथ’ दिएर छनौटमा पर्न सफल भएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए ।

एन्फाले देशभरबाट १३ वर्षमुनिका प्रतिभावान बालकलाई छनौट गरेर बुटवल र धरानमा एकेडेमी सञ्चालन गर्दैछ । छनौटमा परेका बालकलाई एन्फाले खाने, बस्ने, पढ्ने सबै व्यवस्था गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले बताए । विपिन एन्फा एकेडेमी आवासी प्रशिक्षणमा छनौट भएपछि आमा नविना श्रेष्ठ थापा र बुवा जेबी थापाले खुशी व्यक्त गरेका छन् । ‘मेरो छोरालाई एन्फा एकेडेमी छनौट गराउन जजसले जसरी सहयोग गर्नुभयो । सबैलाई धेरै धेरै धन्यवाद छ, आमा नगिनाले भनिन् । नगिना र जेबी फुटबलप्रेमीमात्रै होइन, पूर्व खेलाडी हुन् । एन्फाका प्रशिक्षक रविन्द्र श्रेष्ठले विपिन प्रतिभावान खेलाडी भएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ ९ गते बिहीबार