हत्या आरोपमा तीन पक्राउ



सुर्खेत ।

गत फागुन १८ गते राति १० बजे वीरेन्द्रनगर ६ बुद्धपथमा मृत अवस्थामा भेटिएका चन्द्रप्रसाद आचार्यको हत्यामा संलग्न रहेको आशंकामा एकै परिवारका तीन सदस्य पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो ।

वीरेन्द्रनगर–६ बुद्धपथमा होटेल सञ्चालन गर्दै आएका नन्दकला बिष्ट, उनका श्रीमान कृष्ण बिष्ट र छोरी बिन्दु बिष्टलाई प्रहरीले पक्राउ गरेको छ । आचार्यले वीरेन्द्रनगर–६ मा चियानास्ता पसल गर्दै आएका थिए । वीरेन्द्रनगर–१ बांगेसिमलबाट नागरिकता लिन घर गएका उनी एक्कासी राति १० बजेर बुद्धपथमा मृत अवस्थामा भेटिएका थिए । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा विष्ट परिवारले हत्या गरेको आंशकामा पक्राउ गरेको जनाएको छ ।

प्रहरीले बुद्धपथ र होटल अतिथिको भुइँतलामा जोडिएको सिसिटिभि फुटेजको आधारमा अनुसन्धान सुरु गरेको थियो । ‘आचार्य सोही दिन नन्दकला विष्टले संचालन गरेको पसल वरपर धेरै पटक आवात–जावत गरेको, टहरोको आँखी झ्याल जस्तो भागबाट पटक–पटक चियाएर भित्र–बाहिर गरेको देखिएको छ ।

९ बजेर ३७ मिनेटमा अन्तिम पटक पसलमा प्रवेश गरेको सिसिटिभिमा स्पष्ट देखिन्छ’, कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजि महेशविक्रम शाहले भने, ‘पसल भित्र गएको ९ मिनेटपछि पसलको पश्चिमतर्फ करिब १२ मिटरको दुरीमा आचार्य पल्टिएको अवस्थामा देखिएका छन् ।’ उनले प्रारम्भिक अनुसन्धानबाट हत्यामा विष्ट परिवारकै आशंका देखिएकाले विस्तृत अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ ८ गते बुधबार