गार्मेन्ट उद्योग सञ्चालनको तयारी



बर्दिया ।

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका थारु समुदायका युवतीहरुले झोला बनाउने तालिम पाएपछि सामुहिक गार्मेन्ट उद्योग सञ्चालनको तयारीमा जुटेका छन् । बालिका तथा युवा सशक्तिकरण परियोजना अन्र्तगत प्लान इन्टरनेशनलको सहयोग र बारबर्दिया नगरपालिकाको समन्वयमा राईजिंग आईडल्स बाँकेले बारबर्दियाका १६ जना युवतीहरुलाई एक महिने ब्याग बनाउने तालिम दिएपछि उनीहरु गार्मेन्ट उद्योग सञ्चालनको तयारीमा जुटेका हुन् ।

राईजिंग आईडल्स बाँकेले तालिम संगै उद्योग सञ्चालनका लागि सिलाई मेसिन र ब्याग बनाउने सामाग्री गरेर २ लाख २० हजार बढीको सामाग्री समेत उनीहरुलाई वितरण गरेपछि उद्योग सञ्चालनमा सहज भएको छ । सो तालिम लिएकी बारबर्दिया–७ की रिता चौधरीले तालिम लिएका १६ जना युवतीले सामुहिक रुपमा मिलेर गोचाली गार्मेन्ट उद्योग सञ्चालन गरेर आधुनिक किसिमका झोला उत्पादन गर्ने योजना सुनाइन् ।

उनले कामै नपाएर बेरोजगार बसीरहेको बेला यस्तो तालिम पाएपछि आर्थिक रुपमा सबल बन्न केही गर्ने जोश र जाँगर उत्पन्न भएको जनाइन् । यस्तै सोही तालिम लिएकी अर्की युवती सबिना थारुले तालिमले विश्वास बढाएपनि बजार ब्यबस्थापन र अन्य सहयोगका लागि स्थानीय सरकारले अभिभावकको भूमिका निर्वाह गरिदिनु पर्ने कुरामा जोड दिईन् ।

यसैविच ,झोला बनाउने तालिम पाएका युवतीहरुलाई उद्यमी बनाउन हरेक प्रकारको सहयोग गर्ने प्रतिवद्धता बारबर्दिया नगरपालिकाले पनि जनाएको छ । तालिमको समापन गर्दै तथा प्रशिक्षार्थिलाई ब्याग बनाउने सामाग्री हस्तान्तरण गर्दै प्रमुख अतिथि बारबर्दिया नगरपालिकाका मेयर दुर्गा बहादुर थारुले युवतीहरुले सिकेको भोला बनाउने सिप नगरपालिकाको सम्पत्ति भएको जनाउँदै गार्मेन्ट उद्योग स्थापनादेखि सञ्चालन सम्मका लागि सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाए ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ ८ गते बुधबार