कोहलपुर ।
बाँकेको नेपालगन्ज उप–महानगरपालिका ४ मा बन्द कोठा खोल्दा प्रहरीले लागुऔषध चरेश बरामद गरेको छ । गत ६ महिनादेखि बन्द रहेको कोठा बिहीबार खोल्दा साढे चार किलो लागुऔषध फेला गरेको हो । नेपालगन्ज बसपार्क पछाडि रहेको एक घरमा भाडामा बसेका व्यक्ति ६ महिनादेखि सम्पर्कमा नआएपछि कोठा खाली गरिएको थियो ।
रोल्पाकी रेखा पुन नाम गरेकी महिलाले कोठा भाडामा लिएकी थिइन् । घर मालिकले स्थानीय जनप्रतिनिधी र वडा प्रहरीको रोहबरमा कोठा खाली गराएका थिए । ‘६ महिनादेखि कोठा बन्द थियो । भाडामा बस्ने मान्छे पनि सम्पर्कमा आएनन् । घर मालिकले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर प्रहरीको रोहबरमा कोठा खाली गर्दा साढे चार किलो चरेश फेला परेको छ’, बाँके प्रहरीका प्रवक्ता प्रकाश सापकोटाले भने ।
५ नम्बर र कर्णाली प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने चरेशको बजार नेपालगञ्ज र भारतीय शहर नै हुन् । नेपालगञ्जमा चरेश ‘जम्मा पारेर पायक पर्दा भारततिर सप्लाई’ गर्ने गरेको पाइन्छ । डेरा गरी बस्ने पुन पनी लागुऔषध चरेशको कारोबारी हुनसक्ने प्रहरीले अनुमान गरेको छ । लागुऔषधको कारोबारको क्रममा नै उनी अन्य कुनै स्थानमा पक्राउ परेकाले ६ महिनादेखि कोठामा नआएको हुनसक्ने बताइएको छ ।