
लेखकको किशोर काल बर्दियाको ककौरा गाउँमा बित्यो । तत्कालिन परिवेशमा टि.भि. हेर्न पाउनु भनेको एकादेशको दन्त्यकथा मात्रै थियो । यदाकदा केही सम्भ्रान्त थारु र जमिन्दार पहाडी समुदायका परिवारहरुले मात्र बिहे अथवा चाडपर्वमा भाडामा भिडियो ल्याएर रातभर गाउँमा धर्मेन्द्र, मिथुनका फिल्महरु देखाउँथे । चिसो, धुलो, अनिदो केही नभनी हेरेका ती दृष्यहरुले पारेका प्रभावहरु अहिले पनि मानसपटलमा जिबीतै छन् ।
केही समयपछि ककौरा गाउँमा नगेन्द्र पौडेल र गोविन्द थारुहरुले भिडियो हल नै स्थापना गरे । प्रतिव्यक्ति ५ रुपैँया शुल्क तिरेर हेर्नु पर्ने महँगो फिल्म मेरो लागि हर समय सुलभ हुदैनथ्यो । यद्यपि पैसाको जुगाड गरेरै पहिलो पटक हेरेको नेपाली फिल्म बाँसुरी र हिन्दी फिल्म गंगाजमुना, सरस्वतीका कथानक दृष्यहरु लामो समयसम्म मनमष्तिष्कमा जीवन्त बनिरहे । ककौराको भिडियो हल संचालनमा रहुन्जेल बेला मौकामा अनेक जुगाड गरेर थप दुईचार वटा फिल्महरु हेर्ने मौका वा अवसरहरु जुरिरहे ।
रेडियोमा सुन्न मात्र पाइने अवसर भन्दा टि.भि. भिडियोमा श्रवणसंग संगै प्रत्यक्ष हेर्न पाउनुको मज्जा अदभूत ठानेको थियो मेरो किशोर मनले । उमेरले खुड्किलो चढ्दै गएपछि र साइकल चलाउन सक्ने भएपछि मेरो संसार केही फराकिलो भएर नेपालगंजको लक्ष्मी चलचित्र मन्दिरसम्म तन्किन पुग्यो । यतिबेलासम्म संचारको माध्यम रेडियोको युगबाट फड्को मारेर टेलिभिजनको रुपमा एक दुई वटा घरका कोठाहरुमा प्रवेश गरिसकेको अवस्था थियो ।
घरका छानाहरुमा फाट्टफुट्टरुपमा एन्टेना टाँगिने क्रम शुरु हुन थाले । दुरदर्शन र नेपाल टेलिभिजन मात्र टिप्ने अधिकांश श्याम स्वेत टि.भि.हरुले मान्छेको दिनचर्या र दैनिकीलाई बेलाबेलामा आउने हावा हुरीले एन्टेनाका दिशा खल्बल्याइदिँदा एकजना घरको छानामा चढेर र अर्को टि.भी. मा बसेर तालमेल मिलाउनु पर्ने विचित्रका भोगाइहरुबाट मान्छेहरु गुज्रिए पनि ।
प्रविधिको विकासको क्रममा टि.भि.ले रेडियोको एकाधिकार मात्र तोडेन यसले मानवीय जीवनशैलीलाई समेत प्रत्यक्ष प्रभाव पार्यो । यसमा देखाइने रामायण होस् वा महाभारतका लामा धारावाहिक श्रृङ्खला हुन् वा हास्यव्यङ्ग्यका दृष्यहरु यी सबले मान्छेलाई मनैदेखि छुने काम ग¥यो । यसरी टेलिभिजनले आफ्नो साम्राज्य विस्तार गर्दै गर्दा म किशोरबाट युवा अवस्थामा प्रवेश गर्दै थिएँ । कोहलपुरमा पनि टेलिभिजन खुल्दै छ भन्ने हल्ला सुन्दै थिएँ । नभन्दै एकदिन मैले काम गर्ने पसलमा एउटा टोली धाराको सामान लिन आइपुग्यो । सामान किनी सकेपछि विल काट्ने क्रममा क्रेताको नाम श्याम सुन्दर निर्माण सेवा चितवन र ठेगाना नेपाल टेलीभिजन साइट कोहलपुर लेखिएपछि म चकित भएँ । मेरो खुल्दुली यति धेरै बढ्यो कि एक दिन खुसुक्क साइकल लिएर त्यो टेलिभिजन भवन निर्माण हुने स्थल हेर्न गएँ ।
त्यँहा त बडेमानका खाडल खनिएका र मोटा सरियाका ठूला ठूला पिलर खडा गरिएका थिए । कामदार पनि कोही मधेशी र धेरै जसो मंगोल अनुहारका थिए । उनीहरु त्रिपालको टेन्ट हालेर बसेका थिए । त्यतिञ्जेल कोहलपुमा ठूला भनिएका घरमा समेत मोटा सरियामा ठूला पिलर सहितका घर बनाइएका थिएनन् भन्दा हुन्छ । ठूला भनिने घर पनि मुस्किलले ८÷१० कोठाका मात्रै बनेका थिए । यहाँ त एकै पटक वल्लो छेउदेखि पल्लो छेउसम्म कम्पाउण्डिङसंग संगै ठूला ठूला विल्डिङहरु बन्दै थिए । यो सब देख्दा मलाई आश्चर्य लागिरहेको थियो, आखिर म गाँउबाट आएको एउटा युवा नै थिएँ ।
केही समयपछि भवन निर्माण मात्रै सम्पन्न भएन कि हर्रेको डाँडामा रिपिटर टावर बनेको समाचार समेत थाहा भयो । त्यसैगरी सुर्खेत रोडसँग जोडिने गरी टेलिभिजन भवनसम्मको ग्रेभिल सडक पिच गरियो र संयोग यो सडकले नयाँ नाम पनि पायो । जुन नेपाल टेलिभिजन कार्यालय भएकै कारण एन.टि.भी. रोड भयो । कोहलपुरका तत्कालिन चर्चित व्यवसायी कृष्ण पाठकले खै कुन सोचले एन.टि.भी. भवन अगाडि तीन तलाको घर ठडयाए र त्यसमा न्यू सागर गेष्ट हाउस पनि खोले ।
नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुर लेखिएको वोर्ड भवनको गेटमा टाँगियो एक दिन । कार्यालय हातामा विभिन्न रंग, रुप र वान्किका कर्मचारीहरु पनि देखिए । सायद उनीहरु काठमाण्डौबाट आएका थिए । नेपाल टेलिभिजनको लोगो अंकित सानो जीप तिनै कर्मचारीहरुलाई बोकेर त्यतिबेलाको कोहलपुर बजारमा यताउता डुलिरहेको हुन्थ्यो ।
क्रमशः कोहलपुरको क्षेत्रीय प्रसारणले दर्शकहरुबाट राम्रो माया र समर्थन पनि प्राप्त गर्यो । स्थानीय कलाकारहरुले आफ्नो क्षमता र प्रतिभालाई देखाउने मञ्च प्राप्त गरे । त्यसैगरी यस क्षेत्रका थारु, अवधि लगायतका भाषा संस्कृति र भेषभुषाले टेलिभिजनको स्क्रीनमा आपूmलाई देखाउने अवसर प्राप्त गरे ।
बालबालिकालाई लक्षित गरेर कतिपय नृत्य कार्यक्रमहरु बनाइए र प्रसारित पनि गरिए । कतिपय युवाहरुले बोल्ने, वाककला तिर्खाने अवसर पनि प्राप्त गरे । जे होस् तत्कालिन समय र परिवेशमा कोहलपुरको नेपाल टेलिभिजनको क्षेत्रीय प्रसारणले यस क्षेत्रको सूचना, संचार र मनोरञ्जनको आवश्यकतालाई धेरै हदसम्म परिपुर्ती गरेको मान्नु पर्ने हुन्छ ।
हेर्दा हेर्दै नेपाल टेलिभिजनको क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरको विकाससंग जोडिएको अकाट्य संस्थाको रुपमा चिनिन पुग्यो ।
नेपाल टेलिभिजनको प्रसारण सबै कुनामा नपुगेको समयमा पश्चिम नेपाललाई कभर गर्ने गरी स्थापना हुन लागेको टेलिभिजन भवनका लागि तत्कालिन कोहलपुर नगरविकास समितिले सहुलियत दररेटमा एक विगाहा जमिन उपलब्ध गराएको थियो । टेलिभिजन प्रसारणसंगै कोहलपुरमा चहल पहल पनि बढ्न थाल्यो । नयाँ नयाँ मानिसहरु, कलाकारहरुको आगमन बढ्दै जान थाल्यो । समाचार वाचन कार्यक्रम संचालनदेखि प्रतिभा प्रर्दशनसम्म गर्ने अवसर पाए कोहलपुरे युवाहरुले ।
नेपाल टेलिभिजनले आफ्नो प्रसारण सुरु गरेसंगै मध्यपश्चिम तथा सुदुर पश्चिमेली जनताले पहिलो पटक नेपाल टेलिभिजनका बारेमा जानकारी पाएका हुन् । हुन पनि त्यस अघिसम्म सिंगै पश्चिम नेपालमा हिन्दी टि.भी. च्यानलको सुविधा थियो । मान्छेले हिन्दी च्यानल नै बढी हेर्थे । गाउँघरतिर अधिकतर रेडियो सुन्ने प्रचलन थियो । गाँउघर तिर टि.भि. हेर्ने संस्कृतिको विकास यही क्षेत्रीय प्रसारणले गराएको कुरा स्विकार्नु पर्छ । एन.टि.भी. प्रसारण संगै विशेष गरी सहरी क्षेत्रमा नेपाल टेलिभिजनका दर्शक बढ्दै गए । स्थानिय स्तरमा चिने जानेका व्यक्तिहरु पनि टि.भी.को पर्दामा देखीन थाले । विद्युत नपुगेका वस्तीमा समेत व्याटूी चार्ज गरेर वा भाडामा लिएर टि.भी. हेर्न थालियो । स्थानिय कलाकारहरुले काठमाण्डौसंग नेटवर्क जोड्ने अवसर पाए ।
म आफै पनि एन.टि.भी.मा समाचार वाचकको रुपमा अप्लाई गरौं कि भन्ने सोचमा थिएँ । समय व्यवस्थापन गर्न सक्दिन कि भन्ने संकोच र दहकसले अप्लाई नै गरिन । एन.टि.भी.का हरेक कार्यक्रम र गतिविधिसंग अपडेट थिएँ म । एन.टि.भि.ले पश्चिम नेपालका क्षेत्रीय समाचारहरुलाई अद्यावधिक गर्न कुनै कसुर बाँकी राखेन । कला, संस्कृति धर्म, खेलकुद तथा विकासले समान महत्व पाउँथे । यस क्षेत्रमा कला, संस्कृति, साहित्य वा पत्रकारितामा लागेकाले आफ्नो क्षेत्रमा निरन्तर कृयाशील हुन उत्साह र प्रेरणा बनेको थियो ।
मुलुक गम्भीर द्धन्द्धमा थियो त्यतिबेला ।
एकदिन कसैले नचिताएको परिस्थितिको सामना गर्नु प¥यो कोहलपुर टि.भी.ले । २०६० फागुन १२ गतेको त्यो रात कोहलपुरको आकाश बम र गोलीको आवाजले गुञ्जिएको थियो । सडकमा कतै सैनिकका कतै विद्रोहीका बुटको आवाज सुनिएको थियो । बिहान कोहलपुर बजार भरि आगो सरी हल्ला फिजियो कि माओवादी विद्रोहीहरुले टेलिभिजनका सबै उपकरण र क्यामराहरु उठाएर लगिदिए । त्यसपछि बन्द भएको टेलिभिजन लामो समयसम्म खुल्दै खुलेन । टेलिभिजन केन्द्र बन्द भएपछि यस्तो महसुस भयो मानांै कि कोहलपुरको रानी मौरी हराएको छ । एन.टि.भि.बन्द भएसंगै कोहलपुरको उज्यालो भविष्यसंग जोडिएका अनेक संभावनाहरुको पनि अन्त्य भएको धेरैको ठहर रहृयो ।
जनयुद्ध सकियो । राजतन्त्रले पनि विदा लियो । म आफै पनि युवा रहिन । नेपाल टेलिभिजन फेरि संचालन गर्नुपर्छ भन्ने कुराहरु बारम्बार उठिरहे । जसका कारण टेलिभिजन बन्द भएको थियो उनीहरु नै सत्तामा आएपछि यसले फेरि नयाँ जीवन पाउने आशा गर्नु अस्वभाविक पनि थिएन ।
कैयौँ नेता र मन्त्रीहरु कोहलपुर आउँदा टि.भी.सेन्टरलाई फेरि संचालन गर्ने प्रतिबद्धता गरिरहे । केही मानिसहरु टि.भी.सेन्टरको हाताभित्रै अनसन पनि बसे । यस्तैमा एकदिन अख्तियारले एउटा भवनमा आफ्नो अफिस स्थापना ग¥यो । मुलुक नै संक्रमणबाट गुज्रिएको त्यो समयमा अख्तियार जस्तै अरु कार्यालयहरु आएर बाँकी भवन पनि कब्जा गर्ने हुन कि भन्ने संत्रास आम कोहलपुरबासीमा थियो ।
टेलिभिजनको नाममा जग्गा जमिन, भवन र उपकरण हुँदाहुँदै पनि एन.टि.भि.फेरि कुनै दिन चल्नेछ भन्ने कुराको विश्वास नै गर्न छाडे कोहलपुर बासीले । एन.टि.भी.बन्द भए संगै पिछडिएका थारु तथा अवधि कला संस्कृतिले टाउको उठाउने अवसर फेरि गुमाए ।
हठात् त्यो टेलिभिजन अर्कै नाममा फेरि खुल्यो । विक्रम सम्बत् २०७४ बैशाख १ गतेदेखि यो नेपाल टेलिभिजन प्रदेश नम्बर ५ कोहलपुर प्रसारणको नाममा संचालनमा आयो । टेलिभिजन संचालनमा आएपछि अफिस नियाल्नको लागि एकदिन म फेरि त्यहाँ पुगेको थिएँ । कतिपय पुराना र केही नयाँ कर्मचारी सहित टेलिभिजन सेन्टर पुनः संचालन भएको देख्दा मनैदेखि खुसीको महसुस भयो । अख्तियारले पनि नेपालगंजमा कार्यालय भवन बनाएर त्यतै सरिसकेको रहेछ । आफ्नै भवन, अत्यन्त आधुनिक प्रविधिका उपकरणहरु अनि आफ्नै रिपिटर टावरहरु, स्याटेलाईटसम्मको पहुँच र अत्याधुनिक यन्त्रहरुले सुसज्जित नेपाल टेलिभिजन कोहलपुर प्रसारण प्रदेश नं. ५, ६ र ७ कै लागि सूचना र संचारको धरोहर मानिन्छ ।
अहिलेको युग सूचना र संरचनाको युग हो । प्रविधिमा आएको क्रान्तिकारी परिवर्तनले सूचना र संचारलाई इतिहासमै तिव्र गतिमा पु¥याएको छ । आजको भू मण्डलीकरणको जमानामा सबै क्षेत्रमा तिब्र प्रतिस्पर्धा हुनु अन्यथा मान्न सकिदैन । भारतीय च्यानलहरुको दबदबा चिर्दै आफ्ना नियमित दर्शकहरुको संख्या बढाउन नेपाल टेलिभिजनलाई पक्कै पनि सहज नहोला तर जटिलता पनि छैन । राज्यले करोडौंको लागतमा स्थापना गरेको संचारको माध्यम लामो समयसम्म औचित्यहिन रहनु हामी सबैलाई खिल झैँ बिझाई रहेको थियो ।
नेपाल टेलिभिजन सञ्चालन भएको देख्दा हर्षित छु । राज्यको यति ठूलो लगानीलाई कसरी बढीभन्दा बढी उपयोगमा ल्याउन सकिन्छ भन्ने चिन्तन आजको खाँचो हो । नगर वा प्रदेश जसले भएपनि यसलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने बारेमा गहन तरिकाले सोचुन् । एन.टि.भि.ले आफ्ना कर्मचारी पाल्ने आम्दानी आफैले जुटाओस् । यसलाई कसरी समुदायको पहुँच वा हितमा प्रयोग गर्ने ? भन्ने कुरा सरोकारवाला, राजनीतिक नेतृत्व र आम नागरिकको दायित्व हो ।
प्रस्तावित ५ नं. कर्णाली प्रदेश र सुदुर पश्चिम आफैमा विविध जाति समुदाय र संस्कृति भएको प्रदेश हो । मध्य पहाडदेखि तराईसम्म फैलिएको यो भूगोलमा राज्यको लगानीमा यो
स्तरको संचार केन्द्र स्थापना हुनु एउटा महत्वपूर्ण कुरा हो । कोहलपुर नगरपालिकाको महत्वपूर्ण पहिचायक रुपमा रहेको नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्र पश्चिम नेपालकै सूचनाको प्रमुख केन्द्र बनेको देख्ने मेरो रहर भविष्यमा पूरा होला नै ।