‘बाघे माउसुली’ फेला



कोहलपुर ।
नेपालमा नयाँ प्रजाति ‘बाघे माउसुली’ फेला परेको छ । बाघको जस्तै सुन्दर पाटा हुने भएकाले यसलाई बाघे माउसुली भनिएको हो । जैविक विविधताको अध्ययन गर्ने क्रममा माउसुलीको नयाँ प्रजाति लेपर्ड गे (बाघे माउसुली) पहिलोपटक बाँके जिल्लाको कम्दी जैविक मार्गमा भेटिएको हो । युब्लिफेरिडे परिवार अन्तर्गत पर्ने यो माउसुलीको अभिलेख भएसँगै नेपालमा सरिसृप प्रजातिको नयाँ परिवार थपिएको छ ।

नेपालमा पाइने माउसुलीमध्ये यो ११ औं प्रजाति भएको सरिसृपविज्ञ करण शाहले बताए । विश्वमा ३८ प्रजाति माउसुली भेटिएका छन् । यो माउसुली भारत, बंगलादेश, पाकिस्तान, इरान, अफगानिस्तान, तुकमिनिस्तानमा पाइन्छ । रातिमा सक्रिय हुने र दिनभरि सुत्ने तथा अरु मासुलीजस्तो घरको भित्तामा नबसी जमीनमा बस्नु यसको विशेषता हो । बाँकोको कम्दिपछि सुनवल, नवलपरासी र सुर्खेतको गुर्भाकोट तथा पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्जको कुसुम क्षेत्रमा समेत भेटिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर यामबहादुर रावत, सरिसृपविज्ञ शाह र कुलबहादुर थापा तथा कोषका सन्तोष भट्टराई सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति फेला परेको पुष्टि गरेको हो । उक्त माउसुलीबारे अमेरिकन जर्नल रेप्टाइल्स तथा अम्फिबिअन्समा सोमबार मात्र प्रकाशित भएको छ । आकर्षक देखिने भएकाले यसलाई विदेशमा मानिसले पाल्ने सरिसृपविज्ञ शाहले बताउँछन् । ‘सुरुमा रेञ्जर यमबहादुर थापाले यसको फोटो फेसबुकमा हाले ।

नयाँ प्रजाति हो भनेर मैले भनेपछि उनले फेसबुकबाट हटाए । अनुसन्धान गर्दा नेपालकै नयाँ प्रजाति पुष्टि भयो,’ शाहले भने । हालसम्म तीन ठाउँमा पाँच वटा मात्र भेटिएको यो प्रजातिलाई स्थानीयवासीले विषकोब्रा भन्ने र विषालु हुन्छ भन्ने भ्रमका कारण देख्नेबित्तिकै मार्ने गरेका छन् । सुक्खा बासस्थान भएको चुरे क्षेत्र यो प्रजातिका लागि उपयुक्त बासस्थान रहेकाले अन्य चुरे क्षेत्रमा पनि यसको बासस्थान हुनसक्ने अनुमान छ ।

नदी किनारबाट गिटीबालुवा झिक्दा घाइते अवस्थामा फेला परेकाले चुरे क्षेत्रको अत्यधिक दोहनले यो प्रजाति लोप हुनसक्ने खतरा छ। जैविक विविधताका दृष्टिले नयाँ प्रजाति देशका लागि महत्वपूर्ण सम्पत्ति भएकाले यसको संरक्षण र सरिसृप प्रजातिको अध्ययन अनुसन्धानमा सरकारको ध्यान जानुपर्ने संरक्षणकर्मी बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ चैत १४ गते बिहीबार