कोहलपुर । ६ वर्षअघि अपहरणमा परेका मुन्नु अन्सारी जिउँदो छन् की मृत्यु भइससक्यो कसैलाई पत्तो छैन । २०६९ साल असार २६ गते बाँकेको नेपालगन्जबाट अपहरणमा परेका मुन्नु अन्सारी अझै फेला परेका छैनन् ।
नेपालगन्ज उपमहामनगरपालिका–९ का २२ वर्षिय अन्सारी घर नजिकैबाट दिउँसो साढे दुई बजेतिर अपहरणमा परेका थिए । अपहरण गरेर बेपत्ता पारेकोबारे तीन महिना लगाएर तत्कालिन समयमा जिल्ला प्रहरी कार्यालय बाँकेले असोज १५ गते किटानी जाहेरी लिएको थियो । अपहरणको ६ बर्षपछि बाँके प्रहरीले घटनामा संग्लन रहेका भनिएका एक अभियुक्तलाई पक्राउ गरेको छ ।
अन्सारीको अपहरणपछि नौ लाख रुपैयाँ फिरौती लिएर फरार रहेका जानकी गाउँपालिका–३ इन्द्रपुरका ५० बर्षिय मुल्ला भनिने निजामुद्दिन साईलाई प्रहरीले केहीदिन अघि भारतीय क्षेत्रबाट पक्राउ गरेको थियो । साई पक्राउ गरे पनि अन्सारी कहाँ गए भन्ने प्रहरीलाई पनि पत्तो छैन ।
पक्राउ परेका साईलाई बाँके जिल्ला अदालतले ९ वर्ष कैद र नौ लाख ५० हजार जरिवाना तोकेको थियो । अपहरणपछि २० लाख रुपैयाँ फिरौती माग गरेका अपराधीलाई पीडित परिवारले नौ लाख बुझाएको थियो । आफ्नै मामा सिराजुल रहमान अन्सारीमार्फत दिइएको रकम पाएपछि अपराधीहरूले पीडित परिवारसँग सम्पर्कविच्छेद गरेका थिए ।
तत्कालिन जिल्ला न्यायाधिश हरिप्रताप केसीले उक्त फैसला गर्दै जरिवानाबाट पीडित परिवारलाई क्षतिपूर्ति भराउने फैसला गरेका थिए । अपहरणमा परेका अन्सारी भने ६ बर्ष बितिसक्दासमेत बेपत्ता नै रहेका छन् । उक्त समयमा जिल्ला अदालतले साईसहितका नौ जनालाई कैद सजाय र जरिवाना गरेको थियो । जसमा तीन जना भारतीय नागरिक रहेका छन् । ‘अन्सारीको अहिलेसम्म सास र लास दुवै फेला परेको छैन्’ बाँके प्रहरी स्रोतले भन्यो, ‘अपहरणकारीले फिरौती लिएपछि उनले हत्या गरेको खुलेको छ ।’ हत्या गरिएको बताइएपनी अहिलेसम्म अन्सारीको शवं भने फेला परेको छैन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलका अनुसार अपहरणमा संलग्न कम्दीका झल्लु धोबी र बकरिदी शेष र भारतीय नागरिक इरसाद खान, मोइन कुरैसी र सिराजुल रहमान अन्सारी गरी पाँच जना अझै फरार रहेका छन् । उनले फरार रहेकाहरु पनि पक्राउ पर्ने दावी गरे । प्रहरी उपरिक्षक पौडेलले भने, ‘निजामुद्दिन पक्राउ परेपछि अन्य फरार रहेका अभियुक्त पनि पक्राउ पर्नेछन् । हामीले अनुसन्धानलाई सुक्ष्मरुपमा केलाइरहेका छौं ।’
अन्सारीको शव गाडिएको ठाउँसमेतको जानकारी आएकाले उत्खनन गरेर डिएनए परिक्षण गर्न पाउनुपर्ने परिवारले माग गरेको बताइएको छ । फरार रहेका भारतीय नागरिकलाई अदालतले नेपालको सरहदमा आएपछि तत्काल कार्यान्वयन गर्ने गरी आदेश मुल्तबीमा राखेको छ । इन्द्रपुरकी सुष्मी बर्मा सादा तारेखमा र भवानीयापुरका प्रमोद गिरी भने अदालतको आदेशपछि छुटिसकेका छन् ।









प्रतिक्रिया दिनुहोस्