कोहलपुर ।
बर्दिया बाँसगढी नगरपालिका ९ माछागढमा रहेको लालिगुरास माविमा नयाँ भवन बन्ने भएको छ । संघिय सरकारको ३२ लाख र बाँसगढी नगरपालिकाको ८ लाख गरी ४० लाख रुपैयाँको लागतमा विद्यालयको सुविधासम्पन्न चार कोठे भवन निर्माण हुन गइरहेको हो ।
भवनको बुधबार एक कार्यक्रमका बिच संविधान सभा सदस्य श्याम ढकाल र बाँसगढी नगरपालिका प्रमुख शालिकराम अधिकारीले सयुक्त रुपमा शिलन्यास गरे । संविधान सभा सदस्य ढकालले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिनको लागि पहिले बस्नको लागि भवनको आवश्यकता रहने बताए । नगर प्रमुख अधिकारीले शिक्षामा सुधार ल्याउनको लागि स्थानीय सरकारले विभिन्न अभियानहरु सञ्चालन गरिएको जानकारी दिए ।
नगर भित्रका सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका साथै भौतिक पुर्वाधारमा समेत सम्पन्न गराउन नगरपालिकाले योजना बनाइरहेको उनले बताए । उपभोक्ता समिती मार्फत निर्माण सुरु गरिएको भवनको निर्माण सम्पन्न आगामी असार १५ गतेसम्म गरिसक्नुपर्ने बताइएको छ । भवन शिलन्यास समारोहमा वडा नम्बर ९ का अध्यक्ष जयबहादुर चन्द ठकुरी, नेपाल राष्ट्रिय शिक्षक संगठनका बर्दिया अध्यक्ष निराजन चापागाई, नेपाल शिक्षक संघ बर्दियाका अध्यक्ष नारायण शर्मा,, शिक्षक विद्यार्थी, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जनकराम थारुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक हरि प्रसाद देवकोटाले गरेका थिए । कक्षा १ देखि १० कक्षासम्म पढाई हुने विद्यालयमा पाँच सय भन्दा बढी विद्यार्थीहरुले अध्ययन गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्