कृष्ण ओली । कोहलपुर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले शान्ति प्रक्रियाको नाममा हिन्दु राष्ट्रलाई समाप्त पारिएको आरोप लगाएका
छन् । ‘तत्कालिन विद्रोही माओवादीलाई शान्तिमा ल्याउने नाममा हिन्दु राष्ट्रलाई नै समाप्त पारियो’ उनले भने, ‘सोही नाममा नै बिना कारण राजतन्त्रलाई बली चढाइयो ।’
राप्रपाले सञ्चालन गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रालाई शुक्रबार बाँकेको कोहलपुरमा सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘देशमा शान्ति ल्याउने भन्दै पहिले हिन्दु राष्ट्र र राजसंस्थालाई बली चढाउन बाध्य पारियो’ उनले भने, ‘फेरी देशमा माओवादीको नाममा नै विद्रोहको संकेत देखिसकिएको छ ।’
केही दिनअघि देशका विभिन्न भागहरुमा बम विस्पोट भएको तर्फ इशारा गर्दै अध्यक्ष थापाले नेत्र बिप्लप चन्द नेतृत्वको नेकपाले विद्रोह गर्न लागेको दाबी गरेका हुन् । राप्रपा अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रण गर्ने क्रममा २०४७ सालयता उच्च पदमा रहेका व्यक्तिहरुको सम्पति छानबीन गर्न न्यायिक आयोग गठन गर्नुपर्ने माग गरेका छन् ।
अबैध रुपमा कमाएका सम्पतिहरु जफत गरिनुपर्ने उनको भनाइ छ । ‘एनसेल करछली प्रकरण, वाइडबडी जहाज खरिद काण्ड, सुन तस्करी लगायतका भ्रष्टाचारमा संग्लन भएका व्यक्तिहरुलाई कारवाही गर्नुपर्छ’ उनले भने । राप्रपाले उठाएका मागहरु बारेमा सरकारपक्षबाट फाल्गुन मसान्तभित्र सकारात्मक रुपमा सम्बोधन नभएमा चैत महिनादेखि हिन्दुराष्ट्र पूर्नस्थापनाको मुख्य एजेण्डा लिएर देश व्यापी जनसंघर्ष गर्ने निर्णय गरेको अध्यक्ष थापाले जानकारी दिए ।
०६२÷०६३ मा भएको जन आन्दोलन पश्चात परिवर्तनलाई संस्थागत गर्ने नाममा जे, जस्ता नीति र धारणाहरु अबलम्बन गरिए पनि त्यसको कार्यान्वयन त्रुटिपूर्ण भएकोले १३ वर्षसम्ममा जनताले परिवर्तनको अनुभुति गर्न नपाएको उनको भनाई रहेको थियो । ‘गरिबी झनझन बढ्दै गएको छ, गरिब र धनीबीचको खाडल तीव्र रुपमा बढेको छ,’ उनले भने, ‘देशभित्र समान्य रोजगारीको अवसर पनि सृजना हुन नसेको कारणले गर्दा ४० लाखभन्दा बढी युवाहरु विदेशिन बाध्य भएका छन् ।’
हिजोका दिनमा बन्दुक बोक्नेहरु, लडाँकुहरु तथा आन्दोलनमा होमिएका यूवाहरुको भबिष्य अन्धकार भएको भन्दै उनले र कर्मचारी, ब्यापारी, ठुला राजनितिक दलका नेताहरुको मिलेमतोमा देशमा ब्रह्मलुट चलिरहेको आरोप लगाए । अध्यक्ष थापाले नेपालको भूराजनीतिका अवस्था र धार्मिक, समाजिक, सांस्कृतिक परिवेशलाई दृष्टिगत गर्दै चुनावी राजनीतिभन्दा माथि रहेर राजसंस्थासहितको लोकतन्त्र कायम गर्ने बारे सर्वपक्षीय ‘गोलमेच सम्मेलन’ आयोजना गर्नुपर्ने माग गरे । ‘देशभित्रै देशलाई टुक्राउनु पर्छ भनेर विखण्डणकारी आवाज उठ्न थालेको छ ।
परम्परागत धर्म, संस्कृतिमाथि संगठित रुपले आक्रमण भइरहेको छ’, उनले थपे, ‘सनातन हिन्दु, बौध र किरात धर्मलाई लक्षित गरेर योजनाबद्ध र संगठित रुपले लोभलालच देखाएर, भ्रम सृजना गरेर जर्वजस्ती धर्म परिर्वतन गराउने कार्य तीव्र रुपले भइरहेको छ ।
यस्तो कार्य निरन्तर रुपमा हुँदै जाने हो भन्ने नेपालको राष्ट्रिय पहिचान संकटमा पर्ने र अन्त्यमा देश धार्मिक द्वन्द्वमा फस्ने सक्ने खतरा देखिएको छ ।’ उनका अनुसार ९४ प्रतिशत जनताको भावना र आस्थाको सम्मान गर्दै धर्म निरपेक्षताको खारेजी र हिन्दु राष्ट्रको पूर्णस्थापना हुनुपर्दछ ।
यात्राको माध्यमबाट देशको वर्तमान अवस्था र राप्रपाले उठाएका मागका बारेमा जनतालाई जागरुक तुल्याउने तथा चैत महिनाबाट थाल्ने जनसंघर्षका लागि महौल तयार गर्ने कार्य गरिरहेको उनले जानकारी दिए । यस्तै अध्यक्ष थापाले सिके राउत विखण्डनकारी गतिविधि गर्दै आएका सिके राउतले आफ्ना सवै गतिविधि छाडेकोमा स्वागत गरे ।
सिके राउत र सरकारबीचको सहमतिले आगामी दिनमा त्यस्ता क्रियाकलाप गर्न खोज्नेहरुका लागि पनि निरुत्साहन भएको उनको भनाई थियो ।









प्रतिक्रिया दिनुहोस्