नेपालगन्ज आइपुगे उँट



कोहलपुर ।
आगामी फागुन १९ गतेबाट सुरु हुन गइरहेको “प्रादेशिक महोत्सव–२०७५ नेपालगन्ज” को लागि भारतबाट दुईवटा उँट ल्याईएको छ । भारतको राजस्थानबाट गाडीमा हालेर ल्याईएका उँट बिहिवार नेपालगन्जमा पुगेका हुन् ।

नेपालगन्ज आइपुगेका दुवै उँटलाई महोत्सव स्थल काँरकाँदोमा राखिएको छ । आगामी आइतबार बिहान ९ बजे नेपालगन्ज उद्योग वाणिज्य संघबाट शुरु हुने महोत्सवको झाँकीमा उँटलाई सहभागि गराइने प्रचार प्रसार समितिका संयोजक टंक बहादुर धामीले जानकारी दिए । प्रादेशिक महोत्सवमा पहिलो पटक नेपालगन्जमा उँट ल्याईएको हो । ‘महोत्सवमा यसपटक नयाँ गर्न खोज्दै छौ ।’

संयोजक धामीले भने–‘त्यसैकारण नेपालगन्जका लागि पहिलोपटक उँट ल्याएका छौं ।’ उनका अनुसार हात्ती ल्याउने भनिएपनि नयाँ व्यवस्था अनुसार निकुञ्ज बाहिर लैजान नमिल्ने भएकाले हात्ती ल्याउन सकिएन । प्रादेशिक महोत्सव तीन दिन पछि सरेको छ । बिहीबारबाट महोत्सव सुरु गर्ने आयोजकको तयारी भएपनी प्रतिकुल मौसमका कारण तीन दिन पछाडि सारिएको हो ।

आइतबार उद्घाटन हुने प्रादेशिक महोत्सवको तयारी अन्तिम चरणमा पुगिसकेको आयोजक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना)ले जानकारी दिए । महोत्सवका स्टल बुकिङ उप–समितीका संयोजक समेत रहेका उनले सबै स्टल बुकिङ भइसकेको बताए । महोत्सवमा कुल तीन सय वटा विभिन्न स्टलहरु राखिनेछ । फागुन २९ गतेसम्म चल्ने महोत्सवको एक लाख भन्दा बढी मानिसहरुले अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन १७ गते शुक्रबार