6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

श्री सहकारीको अध्यक्षमा पारसनाथ विजयी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ७, २०७५  

कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको श्री सहकारी संस्था लिमिटेड (साझा) को अध्यक्षमा पारसनाथ थारु विजयी भएका छन् ।

आगामी चार बर्षे कार्यकालको लागि नयाँ नेतृत्व छान्न शनिबार साझाको निर्वाचन भएको थियो । सोमबार बिहान सम्पन्न भएको मतगणना अनुसार जागेश्वर प्रसाद चौधरीलाई पराजित गर्दै अध्यक्षमा थारु निर्वाचित भएका हुन् । थारु साझा नेतृत्वको लागि दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् ।

नेकपा निकटको प्यानलबाट चुनाव लडेका थारुले २ हजार ३ सय ६ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रत्यासी नेपाली काँग्रेस निकटको प्यानलबाट चुनाव लडेका चौधरी २ हजार १ सय १४ मत प्राप्त गर्दै पराजित भए । शनिबार भएको निर्वाचनमा आठ हजार चार सय भन्दा बढी मतदाता मध्ये  कुल ४ हजार ५ सय ६४ मत खसेको थियो ।

सोमबार नै सम्पन्न भएको मतगणना अनुसार साझाको उपाध्यक्षमा राजमोहन थारु, जिल्ला प्रतिनिधीमा गंगा बहादुर डाँगी, सञ्चालन समितीको सदस्यहरुमा पशुपति थारू, उषा थापा, भगन थारू र डम्बर खड्का विजयी भए ।

साझाको लेखा संयोजकमा काली बहादुर ओली, सदस्यहरूमा दिलबहादुर वेडुवा र मन्जु सत्याल निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत विकास आचार्यले जानकारी दिए । साझाको दश पदमा भएको निर्वाचनमा नेकपा निकटको प्यानलबाट आठ जना विजयी हुन सफल भए भने नेपाली काँग्रेस निकट प्यानलबाट चुनाव लडेका दुई जना मात्र विजयी भए । साझाको दोस्रो कार्यकालका लागि नवनिर्वाचित अध्यक्ष थारुले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।

सोमबार राती मिसन टुडेसँग विजयी भए पश्चात प्रतिक्रिया दिदै उनले उक्त कुरा बताएका हुन् । चुनाव प्रचारका क्रममा मतदाता तथा यस क्षेत्रका अगुवाहरुले दिएको सल्लाह सुझावलाई आत्मसाथ गर्दै अगाडि बढ्नेछु नवनिर्वाचित अध्यक्ष थारुले भने ।

सबैसँग सहकार्य गरेर अघिल्लो कार्यकालमा भएका अपूरा कामहरुलाई समेत सम्पन्न गरिने उनले बताए । कोहलपुरको साझा सहकारी बाँकेकै सबैभन्दा धेरै सेयरधनी भएको सहकारी संस्था मानिन्छ । साझाको निर्वाचनको क्रममा यहाँका ठूला राजनितिक दलहरुले आफ्नो प्रतिष्ठाको बिषय मनाएका थिए ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ७, २०७५     8:34:01 AM  |