कोहलपुर फाल्गुन ०२, बाँकेको नेपालगन्ज उप–महानगरपालिका ४ बसपार्कबाट प्रहरीले चितुवाको छाला सहित दुई जनालाई पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा प्रदेश नम्बर पाँचको अपराध अनुसन्धान ब्यूरोको टोलीले बुधबार एक थान चितुवाको छालासहित दुई जनालाई रंगेहात पक्राउ गरेको हो ।
अपराध अनुसन्धान ब्यूरोका इन्चार्ज प्रहरी निरीक्षक बोधराज रेग्मीको नेत्तृवमा भएको टोलिले बसपार्कमा रहेको शर्मा गण्डकी होटलको कोठाबाट छालासहित दुई जनालाई पक्राउ गरेको थियो ।
ब्यूरो स्रोतका अनुसार चितुवाको छालासहित पक्राउ पर्नेमा रोल्पा लिवाङ नगरपालिका १ का चन्द्र बहादुर घर्ती र सोही जिल्ला शुनिल स्मृती गाउँपालिकाका २ का आइते विष्ट रहेका छन् ।
ब्यूरोले आवश्यक कारबाही तथा अनुसन्धानका लागि छालासहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मा लगाएको छ । जिल्ला प्रहरीले आवश्यक कारबाही तथा अनुसन्धानका लागि बुधबार नै डिभिजन वन कार्यालय बाँकेमा बुझाएको छ ।