1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

कोहलपुरको खड्गवार ‘स्मार्ट कृषि गाउँ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ २९, २०७५  

कोहलपुर २९,बाँकेको कोहलपुर नगरपालिका–१३ खड्गवारमा ५ नं प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले करिब ६० लाख रकमको ‘स्मार्ट कृषि गाउँ ’ परियोजनाको सोमबार शुभारम्भ गरिएको छ ।

५ नं प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कागतीको विरुवा रोपेर सो कार्यक्रमको शुभारम्भ गरिन् । सोमबार ५ नं प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि ज्ञान केन्द्र बाँके र स्मार्ट कृषि गाउँ कार्यान्वयन समिति खड्गवारको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको थियो । स्मार्ट कृषि गाउँको शुभारम्भ गर्दै भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री आरती पौडेलल मन्त्रालयकोे सर्वेक्षण बाँकेमा यो परियोजनाका लागि यस क्षेत्रका कृषकहरु मिहिनेती भएको पाइएकाले यस गाउँलाई नै छनौट गरिएको बताइन् ।

मन्त्री पौडेलले यस परियोजनामा आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन गर्ने चितवनको कृषि विश्वविद्यालयको प्रविधिक टिम समेत रहेकाले यो सहज सँग सञ्चालन गर्ने सकिने दाबी गरिन् । ‘स्मार्ट कृषि गाउँ ’परियोजना कोहलपुर नगरपालिकामा मै पारेकोमा कृषि मन्त्रीलाई विशेष धन्यवाद दिदै कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतले स्थानीय कृषकहरुलाई अब विदेशमा होइन आफ्नै गाउँमा आफ्नै जमिनमा उत्पादनमा लागेर आफू आत्म निर्भर बन्ने आधार सरकारले गरिदिएकाले मिहिनेत गर्ने कृषकका लागि ठूलो अवसर भएको बताए ।

प्रमुख रावतले यस क्षेत्रका कृषकहरुले उत्पादन गरेका जुनसुकै उपभोग्य बस्तुहरुको बिक्री गर्ने बजारको प्रसस्त संभावना रहेकाले उत्पादनमा लाग्न आग्रह गरे । त्यस्तै कोहलपुर नगरपालिका उप प्रमुख सन्जु कुमारी थारुले कृषि नेपालको अर्थतन्त्रका लागि प्रमुख मेरुदण्ड भएकाले कृषि क्षेत्रको विकास नगरी देश संवृद्ध नहुने बताइन् ।

५ नं प्रदेश भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका उपसचिव वरिष्ठ कृषि विज्ञ विनोद घिमिरेले ‘स्मार्ट कृषि गाउँ ’ परियोजनाको बारेमा प्रकाश पार्दै भने, ‘स्मार्ट कृषि गाउँ ’ भनेको कुन ठाउँमा कुन चिज उत्पादन हुन्छ भन्ने माटो परिक्षण गर्ने देखि कृषकलाई उत्पादनका लागि आवश्यक पर्ने मल,विउ,सिचाइँ,उत्पादन भएको वस्तुको विक्रीका लागि बजारको व्यवस्था समेत गर्ने परियोजना हो’ ।

उपसचिव घिमिरेले चार वर्ष सम्म प्रदेश सरकारको लगानीमा सञ्चालन गरिने सो परियोजना कृषि सूचना केन्द्र समेत राखिने र एसएमएस प्रविधिबाट सबै सूचनाहरु सम्बन्धीत निकाय र कृषक समक्ष पु¥याउने व्यवस्था गरिने बताए । शुरुमा रु ६० लाखको यस परियोजनामा रु ५० लाख प्रदेश सरकारको र रु १० लाख स्थानीय तह वा सम्बन्धीत उपभोक्ता कृषकहरुको लगानी रहने गरी परियोजना सञ्चालनमा ल्याइएको र चार वर्ष पश्चात स्थानीय तहलाई हस्तान्तरण गरिने घिमिरेले जानकारी गराए ।

कोहलपुर नगरपालिकाका राजनीतिक दलहरुका नेताहरुले कृषकहरुका लागि यो ज्यादै नै उपयोगी परियोजना भएकालाई यसलाई सफल बनाउन सबै पक्षको सहयो आवश्यक रहेको र त्यस्तो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । यसरी प्रतिवद्धता जनाउनेहरुमा नेकपा कोहलपुर नगर कमिटि अध्यक्ष वसन्ती अधिकारी, नेपाली काँग्रेस कोहलपुर नगर सभापति बलराम शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हिक्मत ढकाल रहेका थिए ।

स्थानीय कृषकहरुले सो स्थानमा उत्पादन हुने बालीनालीहरु बाँके राष्ट्रिय निकुञ्जका कारण वन्यजन्तुहरुले नष्ट गरिदिने हुँदा सो क्षतिबाट जोगाउन तारजालीको तत्काल व्यवस्था गरिदिन माग गरेका थिए । कार्यक्रममा सबैलाई स्वागत गर्दै कोहलपुर नगरपालिका वडा नं १३ का अध्यक्ष ओम प्रकाश ओलीले प्रदेश सरकारले सञ्चालनमा ल्याएको परियोजनालाई नमूना योग्य रुपमा सफल बनाउन स्थानीयहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रम स्मार्ट कृषि गाउँ परियोजना कार्यान्वयन समितिका अध्यक्ष रिम बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः मङ्लबार, माघ २९, २०७५     5:16:10 AM  |