रावन बिश्वकर्मा, बाँसगढी २७, बर्दियाको बाँसगढीमा कबड्डी कभर्ड हलको निर्माण कार्य अहिले धमाधम भइरहेको छ ।
कभर्ड हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । बर्दियाको बासगढी नगरपालिका ४ स्थित मगर गाउँमा रहेको ८ विघा जग्गामा कबड्डी एकेडेमी बनाउने उद्वेश्य राष्ट्रिय खेलकुद परिषद्ले राखेको छ । सोही अनुसार पहिलो चरणमा कबड्डी कभर्ड हलको निर्माण भइरहेको हो ।
१० बर्षे योजनाका साथ खेलकुद परिषद्ले निर्माण गर्न सुरु गरेको कबड्डी एकेडेमीको लागत ५० करोडभन्दा बढी लाग्ने अनुमान गरिएको छ । कभर्ड हलको गत बर्ष राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले शिलान्यास गरेका थिए । अहिले हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समितीका अध्यक्ष खगेन्द्र खनालले जानकारी दिए ।
हलको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ, उनले भने अब छाना लगाउने काम मात्र बाँकी रहेको छ । यसै क्षेत्रमा हुन गइरहेको ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनगर गर्दै बाँसगढीमा कबड्डी कभर्ड हलको निर्माण गरिएको हो । कबड्डी कभर्ड हल निर्माण उपभोक्ता समितीका अध्यक्ष नवराज अधिकारीले केही दिनमा नै निर्माणको सबै काम सम्पन्न हुने जानकारी दिए ।
हलको काम लगभग पूरा भइसकेको भन्दै उनले बाँकी रहेका केही कामहरु समेत केही दिनमा नै पूरा गरेर खेल्न मिल्ने अवस्थामा राखिने बताए । राष्ट्रिय खेलकुद परिषद्का प्राविधिक दुष्युन्त बस्नेतले भने, हल एकदमै गुणस्तरीय बनाइएको छ । खेल्नका लागि तयार पार्न अझै कुनै कसुर समेत बाँकी राखिने छैन ।
राष्ट्रिय खेलकुद प्रतियोगिता हुने समयसम्म हलको सम्पूर्ण काम सकेर खेल्नको लागि तयारी पारिसकिने उनले जानकारी दिए । प्राविधिक बस्नेतका अनुसार बाँकी रहेका केही कामहरु छिट्टै नै पूरा गर्नको लागि अहिले पनी काम धमाधम भइरहेको छ । कबड्डी कभर्ड हल निर्माण भइरहेको स्थानमा नै अत्याधुनिक कबड्डी एकेडेमी निर्माण गर्ने लक्ष्य राखिएको छ ।
त्यसको लागि जनचेतना सामुदायिक वनको ८ विगाह जग्गा ५० बर्षसम्म भोग चलन गर्न पाउने सम्झौता भइसकेको छ । देशैभरीका कबड्डी खेलाडिहरुलाई शिक्षा दिने लगायतका सुविधासहितको बहुउद्वेश्यीय एकेडेमीको रुपमा बिकास गरिने योजना रहेको बताइन्छ । अहिले हल निर्माण भइसकेपछि राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरर्गतका महिला र पुरुष तर्फका दुवै कबड्डी बाँसगढीमा नै गराइने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्