विकास र समृद्धिको भोको कर्णाली प्रदेश



– रमेश मल्ल
कर्णालीको जमीन बञ्जर छ तर जनताले त्यो बञ्जर जमिन जोत्ने साधन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सुम्पिएको छ । परिवर्तन पछिको नेपालमा कर्णाली प्रदेश विकास र समृद्धिको अतुलनीय सम्भावना बोकेको प्रदेश हो । पुरानो राजनैतिक व्यवस्थाका कारण कर्णालीले लामो समयसम्म केन्द्रीकृत सामन्तीसत्ताको कोपभाजनमा रही राजनैतिक निकास र आर्थिक विकासको भोक र प्यास बोकेर बस्न बाध्य भयो । आजका दिनमा कर्णाली प्रदेश नयाँ भौगोलिक संरचना र राजनैतिक नेतृत्व सहित अगाडि बढेको छ ।

कर्णाली प्रदेशको विकास र समृद्धिको विषयमा प्रवेश गर्दा सवभन्दा पहिले कर्णाली प्रदेशको आजको वस्तुगत अवस्थाको बारेका जान्न नितान्त आवश्यक पर्दछ ।

कर्णाली प्रदेशको आर्थिक सामाजिक चित्र

भौगोलिक रुपमा कर्णाली प्रदेश देशको सबैभन्दा ठुलो प्रदेश हो । २४ हजार चार सय ५३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कर्णाली प्रदेश उत्तरी छिमेकी मुलुकसँगमात्र सिमा जोडिएको प्रदेश हो ।

राराको सुन्दरता, जलविद्युतको हव, बन, जंगल र जडिबुटीको केन्द्र, अन्र्तराष्ट्रिय पर्वतीय नाका, हिमचुचुराको चुम्बन गर्न कोे नपुग्ला र कर्णालीमा ?

२०६८ को राष्ट्रिय जनगणना अनुसार कर्णाली प्रदेशको कुल जनसंख्या १५ लाख ७० हजार चार सय १८ रहेकोमा पुरुष सात लाख ६७ हजार नौ सय २३ र महिला आठ लाख दुई हजार चार सय ९५ रहेको छ । यो नेपालको कुल जनसंख्याको ६ प्रतिशत मात्र हो । जनसंख्याको दृष्टिले कर्णाली प्रदेश सबैभन्दा कम जनसंख्या भएको प्रदेश हो । आर्थीक, सामाजिक, साँस्कृतिक, पर्यावरणीय र भौगोलिक विविधता रहेको यो प्रदेश जल, जमिन, जंगल तथा जडिबुटीको पर्याप्तता र संभावित उत्पादन क्षमताको दृष्टिले सबैभन्दा उच्च स्थानमा रहेको छ ।

विकास र सम्वृद्धिका दृष्टिले यो प्रदेश मुलुककै सबैभन्दा पछि परेको, पारिएको प्रदेश हो । प्रदेशको साक्षरता दर ५८.२५ प्रतिशत रहेको छ जुन देशको औसत साक्षरता दरभन्दा धेरै कम हो । मुलुकको प्रतिव्यक्ति आय नै अत्यन्तै कम अर्थात प्रतिव्यक्ति आय ११६० अमेरिकी डलर रहेकोमा कर्णाली प्रदेशको प्रतिव्यक्ति आय ज्यादै न्युन ८०६ अमेरिकी डलर रहेको छ । यो प्रदेश आर्थिक र सामाजिक परिसुचकमा राष्ट्रिय औषतभन्दा न्युन माात्र होइन, कुल गार्हस्थ उत्पादनको योगदानमा समेत पछाडि रहेको छ । कुल गार्हस्थ उत्पादनमा यो प्रदेशको योगदान ३.९ प्रतिशत मात्र रहेको छ ।

प्रदेशका आधाभन्दा बढी जनसंख्या निरपेक्ष गरिबीको रेखामुनी बाँच्न विवश छ । मुलुकको गरिबी दर २५.५ प्रतिशत रहेकोमा यो प्रदेशको गरीबि दर यस प्रदेशको जनसंख्याको ५१.८ प्रतिशत हुनुले कर्णालीमा गरिबीको भयावह अवस्थाको चित्रण गर्दछ ।

मानव विकास सुचकाङ्कमा मुलुकको औसत सुचक ०.४९० हुँदा कर्णाली प्रदेशको ०.४११ रहेको छ । समग्र देशको नागरिकको औसत आयु ७१ वर्ष रहँदा कर्णाली प्रदेशका नागरिकको आयु ६० वर्ष रहेको छ । श्रमशिल युवा जनशक्तिलाई रोजगारी तथा स्वरोजगारीमार्फत देश र प्रदेशभित्र व्यवस्थापन गर्न नसक्दा उक्त जनशक्ति भारत र खाडी मुलुकहरुमा न्युन पारिश्रमिकमा जोखिमपुर्ण काम गर्न बाध्य छन् ।

यसले एकातिर उर्जाशिल जनशक्तिको पलायन र उत्पादिनशिल जमीन उजाड बनिरहेका छन् भने अर्कोतिर गाउँहरु बालबालिका र वृद्ध तथा अशक्तहरुको आश्रयस्थल मात्र बन्ने अवस्था श्रृजना भएको छ । यसले समाजमा पार्ने आर्थिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक र मानसिक आघात र क्षतिको कल्पनै गर्न सकिँदैन । विदेशी भुमिमा रगत र पसिना बगाई कमाएको पैसा अनुत्पादक क्षेत्रमा खर्च हुनु पनि अर्को गम्भीर समस्या बन्न पुगेको छ ।

कर्णाली प्रदेशको जनादेश

२०७४ वैसाख ३१ गते पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भयो । जस अन्र्तगत प्रदेश नम्बर ६ का २५ नगरपालिका र ५४ गाउँपालिका गरी जम्मा ७९ वटा स्थानीय तहमा उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भयो ।

कर्णाली प्रदेशका १० जिल्लाका प्रत्यक्षतर्फका १२ संघीय प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमा सबै क्षेत्रमा तत्कालीन वाम गठबन्धन र हालका नेकपाका प्रतिनिधिहरु विजयी बने

नेपाली जनताको अद्धितिय वलिदान र ऐतिहासिक पहलकदमीको रुपमा संविधानसभाबाट नेपालमा नयाँ संविधान निमार्ण भई उक्त ऐतिहासिक राजनैतिक तथा संवैधानिक दस्तावेजको कार्यान्वयनको पहिलो खुट्किलोको रुपमा उक्त निर्वाचनलाई लिईएको थियो ।

निर्वाचनको यस चरणमा नेपालका वाम शक्तिहरु एक आपसमा मिलेर जाने वातावरण निर्माण भईसकेको थिएन तसर्थ यो निर्वाचनमा नेपालका दुई ठुला कम्युनिष्ट घटक जो आज एकीकृत पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध भैसकेका छन, तत्कालीन अवस्थामा प्रतिस्पर्धामै थिए र त्यसको केही फाइदा नेपाली कांग्रेसले लिने मौका पाएको थियो ।

यस परिवेशमा सम्पन्न निर्वाचनमा पनि कर्णाली प्रदेशमा नेकपालाई २५ नगरपालिकामा १७ र ५४ गाउँपालिकामा ३७ स्थानमा प्रमुख र अध्यक्ष प्राप्त भयो । यो परिणाम कर्णालीवासी जनसमुदायको कम्युनिष्ट पार्टीप्रतिको विश्वास र भरोसाभन्दा अरु केही थिएन । तलको तालिकामा स्थानीय तहको निर्वाचन परिणाम पनि हेर्न सकिन्छ ।

२०७४ मंसीर २१ गते सम्पन्न भएको संघ र प्रदेशको निर्वाचनमा कर्णाली प्रदेशका १० जिल्लाका प्रत्यक्षतर्फका १२ संघीय प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमा सबै क्षेत्रमा तत्कालीन वाम गठबन्धन र हालका नेकपाका प्रतिनिधिहरु विजयी बने भने प्रदेशसभा सदस्य निर्वाचनका प्रत्यक्षतर्फका २४ वटा सिट मध्ये २३ सिटमा तत्कालीन वाम गठबन्धन र हालका नेकपाका प्रतिनिधिहरु विजयी बने ।

एकमात्र सिट हुम्ला– २ मा नेपाली काँग्रेसले आफ्नो उपस्थिति जनायो, त्यो पनि वामगठबन्धनभित्रको आन्तरिक कलहको कारण । यसरी वाम गठबन्धन र कम्युनिष्ट पार्टीको एकतालाई कर्णाली प्रदेशका जनताले दिलै देखि स्वागत गरेका छन र आफ्नो विश्वासको मत प्रदान गरेका छन । अहिले कर्णाली प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुईतिहाईभन्दा माथिको एकलौटी सरकार छ । प्रदेशसभामा प्रतिपक्षी दलको झिंनो उपस्थीति छ । यो राजनैतिक वर्चश्व इतिहासमा सायदै कतै थियो होला ।

कर्णाली प्रदेश भर्सेज कम्युनिष्ट पार्टी

कर्णाली भौगोलिक रूपमा विकट छ । आर्थिक रूपमा अभावग्रस्त छ तर प्राकृतिक सम्पदाले भरिपुर्ण छ । उर्जाशिल श्रमशक्ति पर्याप्त छ । मात्र त्यसलाई आफ्नै सम्पदालाई दोहन गरी समृद्धि हाँसिल गर्न योग्य बनाउनुछ ।

स्वरोजगार र रोजगारमार्फत आफ्नै प्रदेशमा श्रम गर्ने अवस्थामा पु¥याउनु छ । कर्णालीको जमीन बञ्जर छ तर जनताले त्यो बञ्जर जमिन जोत्ने साधन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सुम्पिएको छ ।

कर्णाली प्रदेशमा नेकपाको सरकारले त्यही जनआँकाक्षालाई सम्बोधन गर्न ‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’ को नारालाई अगाडि सारेको छ । भेरी र कर्णाली करिडोरलाई अन्तर्राष्ट्रि व्यापारसँग जोड्ने, लुम्विनीलाई रारासँग जोड्ने, कर्णाली प्रदेशका सबै जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने तथा उर्जाक्षेत्रमा प्रशस्त संभावना भएका कर्णाली, भेरी जस्ता ठुला आयोजना र अरु थुप्रै आयोजनामार्फत कर्णालीलाई विद्युतको हब बनाउन सकिने प्रशस्त संभावनाहरु छन, जो कर्णाली सरकारले प्राथमिकतामै राखेको देखिन्छ ।

जडीबुटीमा कर्णाली देशकै प्रमुख जडिबुटि निर्यात गर्ने प्रदेश हो । उक्त जडिबुटीलाई प्रदेशभित्रै प्रशोधन गर्ने दिर्घकालिन योजना निमार्ण गर्ने हो भने कर्णालीको समृद्धि हाम्रो सपना मात्र बनिरहने छैन । राराको सुन्दरता, जलविद्युतको हव, बन, जंगल र जडिबुटीको केन्द्र, अन्र्तराष्ट्रिय पर्वतीय नाका, हिमचुचुराको चुम्बन गर्न कोे नपुग्ला र कर्णालीमा ? कर्णाली दुनियाँका पर्यटकहरुको आर्कषणको केन्द्र छ र अझै बन्दै जानेछ ।

शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता जनताका आधारभुत आवश्यकताका क्षेत्रमा सरकारको प्राथमिकता तथा आधुनिक तथा व्यवसायीक कृषि उत्पादन, सहकारी अभियान, युवा तथा महिला सशक्तिकरण लगायतका थुप्रै कार्यक्रममार्फत प्रदेश सरकारले समृद्धिको आधार तयार गर्न लागेको देखिन्छ । कर्णालीका जनताको विश्वास नै कम्युनिष्ट पार्टीको लागि कर्णालीलाई समृद्ध बनाउने सबभन्दा ठुलो आधार हो । यसमा कम्युनिष्ट पार्टी अलिकति पनि चुक्नु हुदैन ।

समिक्षाको प्रारम्भिक कसिमा कर्णाली

माघ ८ गते सुर्खेतबाट पत्रकार नगेन्द्र उपाध्यायले ‘अस्तव्यस्त कर्णाली सरकार’ भन्ने शिर्षकमा एउटा समाचार लेखे । हुन त समाचारमा पत्रकारको आफ्नै दृष्टिकोण होला तर उनको तथ्याँकलाई आधार मान्ने हो भने प्रदेश लेखानियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको छ महिनामा प्रदेश सरकारको पुँजिगत खर्च ०.३ प्रतिशत रहेको छ । कार्यतालिका अनुसार काम नहुँदा यो वर्षको अधिकाँश विकास बजेट खर्च नहुने देखिन्छ ।

यसको मुख्य समस्या भनेको जनशक्तिको अभाव हो । मुलुक संघीयतामा गयो तर कर्मचारी समायोजनको काममा ढिलाई हुँदा कुनै पनि कार्यालयमा पर्याप्त जनशक्ति उपलब्ध हुन सकेको छैन चाहे त्यो स्थानीय तह होस् या प्रदेश ।

प्रदेश सरकारले जनशक्तिको अभावमा आफ्ना मन्त्रालयका सांगठनिक संरचना अनुसारका कतिपय कार्यालय अहिलेसम्म पनि खोल्न सकेको छैन । अर्को समस्या बुझबुझारथको हो । केन्द्र सरकारले हालसम्म पनि कतिपय हिजो आफुले सञ्चालन गरेका आयोजना जो अहिले प्रदेश सरकारको कार्यक्षेत्रमा छन, त्यसको बुझबुझारथ गरेको छैन । यो समस्या कर्णाली प्रदेशको मात्र नभै सबै प्रदेशको हो ।

संघीयताको मर्म अनुसार केन्द्र सरकारले छिटोभन्दा छिटो तल्ला तहलाई कानुनी र संगठनात्मक रुपले बलियो बनाउने तथा आवश्यक समन्वय र सहकार्यमार्फत काम गर्ने वातावरण तयार गर्नु पर्दछ भने प्रदेश सरकारले पनि प्रदेशको सर्वाङ्गीण विकासको रणनैतिक र तात्कालिक योजना निमार्ण गरी त्यसको तदारुकताकासाथ कार्यान्वयन गर्नका लागि दत्तचित भै लाग्न आवश्यक देखिन्छ । कुशल नेतृत्व र सफल टिम कर्णालीको वर्तमानको माग हो । सम्भावनै सम्भावनाको द्वार उघ्रेको कर्णाली प्रदेश भविष्यको एक समृद्ध प्रदेश हुनेमा भने दुईमत छैन ।

लेखक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ माघ १४ गते सोमबार