डिल्ली शाही, कोहलपुर,माघ ११/ मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले १० आंगिक क्याम्पसलाई समायोजनमा ढिलाई भएको छ ।
आंगिक क्याम्पसका रुपमा मान्यता पाएको डेढ वर्ष बित्दा पनि साविक मध्यपश्चिम विकास क्षेत्रका कर्णाली र प्रदेश नं. ५ का १० वटा क्याम्पसहरु आंगिक क्याम्पसमा कर्मचारी सममायोजन भइसकेको छैन ।
कर्मचारी समायोजन नहुँदा आंगिक क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले हालसम्म सेवा सुविधा पाउन सकेका छैनन् । लामो समयसम्म पनि अन्योलतामै काम गर्नुपरेको तर तलब नपाउँदा मर्का परेको आंगिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुले गुनासो गरेका छन् ।
१० वटा क्याम्पमा कार्यरत दुईसय तीन जना प्राध्यापक र कर्मचारीहरुले अहिलेसम्म पनि तलब पाएका छैनन् । एमयूले साविकको मध्यपश्चिमका १० क्याम्पसलाई भदौ ११ देखि लागू हुने गरी आफ्नो आङ्गिक क्याम्पसका रुपमा अंगिकार गरेको पत्र दिएको थियो । उक्त पत्रसँगै ती क्याम्पसले त्रिभुवन विश्वविद्यायसँगको सम्बन्धन तोडेका थिए ।
तर एमयूले भने क्याम्पस प्रमुखलाई काम गर्न जिम्मेवारी दिनेबाहेक अरू प्रक्रिया पुरा गर्न नसकेको आंगिक क्याम्पसका प्राध्यापकहरुको गुनासो छ । आंगिक क्याम्पस समायोजन संघर्ष समितिका संयोजक शेरबहादुर रायमाझीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले समायोजनको प्रक्रिया अगाडि नढाउँदा यो समस्या आएको बताए । ‘हामीले आंगिक क्याम्पसलाई समायोजनका लागि सबै प्रक्रिया पुरा गर्दा समेत समायोजन हुन सकेको छैन’ उनले भने, ‘हामीले कागजी प्रक्रिया पु¥याउँदा पनि कहिलेसम्म तलब पाउने ?’ उल्टै समायोजनको प्रक्रिया र कार्यविधि सम्बन्धमा संघर्ष समितिले मध्यपश्चिमाञ्चलका पदाअधिकारीहरु सँग बुझ्न जादाँ कुरा नै गर्न नचाहाने, अपमान जनक व्यवाहार गर्ने अस्पष्ट, धम्किपूर्ण र गोलमेटोल जवाफ दिने प्रवित्ति देखाउने गरेको संघर्ष समितिका अध्यक्ष रायमाझिले गुनासो गरे । बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका प्राध्यापक तोयानाथ पहाडिले भने, ‘समस्या समाधानको अरु उपाय केही नलागेपछि अन्त्यमा आन्दोलनमा उत्रिएका हौं ।’ 
एमयूले आंगिक क्याम्पसका लागि दुईसय तीन शिक्षक र कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । तर, अहिलेसम्म कसैलाई नियुक्ति दिएको छैन । नियुक्ति नपाउँदा उनीहरूले भदौदेखि तलबसमेत पाएका छैनन् । हजारौ विद्यार्थी, सयांै प्राध्यापक तथा कर्मचारीहरु एवम् क्याम्पसहरुको समेत भविष्य अनिश्चित भएको तथा विश्वविद्यालय अनुदान आयोगबाट अनुदान प्राप्त गर्ने अवसरबाट १० वटा क्याम्पसहरु वञ्चित भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिका सचिव रहेका पहाडिले
बताए ।
त्यस्तै संघर्ष समितिले १० वटा क्याम्पसका प्राध्यापक र कर्मचारीले मन्त्रिपरिषद्ले गरेको निर्णय, विश्वविद्यालय अनुदान आयोगको निर्देशन र एमयूको ऐन अनुसार तत्काल नियुक्ति दिनुपर्ने, क्याम्पसको सम्पत्ति हस्तान्तरण गरी समायोजन प्रक्रिया टुंग्याउनुपर्ने र प्राज्ञिक वातावरणलाई सम्मानपूर्ण बनाउनुपर्ने माग राखेका छन् ।
बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका प्राध्यापक ज्ञानेन्द्र शाहीले भने, ‘हामीलाई कोर्षबारे अहिलेसम्म ‘ओरिन्टेसन’ सम्म भएको छैन, कुन विषय कसरी पढाउने ?’ भन्ने नै थाहा छैन ।’ विश्वविद्यालयको ढिलाइले गर्दा समुदायले जन्माई हुर्काएका क्याम्पसको भविष्य अन्यौलमा रहेको उनको भनाई छ । बाँकेको बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस, सुर्खेतको भेरी शिक्षा क्याम्पस, जाजरकोटको भेरी ज्ञानोदय क्याम्पस, कालिकोटको तिला कर्णालि बहुमुखी क्याम्पस, मुगुको रारा बहुमुखी क्याम्पस, मुसिकोटको अलंगा बहुमुखी क्याम्पस, दैलेखको नारायण क्याम्पस, बर्दियाको बबई बहुमुखी क्याम्पस, सुर्खेतको जनता बहुमुखी क्याम्पस, रोल्पाको जलजला बहुमुखी क्याम्पस एमयूले आंगिक घोषणा गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्