तुलसीपुर दुर्घटना : ७ जनाको कोहलपुर रेफर



५ माघ / दाङको तुलसीपुर १२ हरिपौरीमा भएको बस दुर्घटनामा घाईते भएका ७ जनाको कोहोलपुर रेफर गरिएको छ । शनिबार दिउसो १ बजेतिर तुलसीपुरबाट दमारगाउँ तर्फ जाँदै गरेको रा १ ख ४९४ नम्बरको मिनीबस दुर्घटना हुँदा घाईते भएका २५ जना यात्रुमध्ये ७ जनाको राप्ती अञ्चल अस्पतालमा उपचारपछि थप उपचारका लागि कोहोलपुर रेफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का ४५ बर्षीय राधा मल्ल, सोही ठाउँकै ५५ बर्षीय केशव डाँगी, तुलसीपुर उपमहानगरपालिका वडा नंं १९ की ३६ बर्षीया माया पुरी , सोही ठाउँकी ३९ बर्षीया गीरा थापा, तुलसीपुर ६ की २२ बर्षीय आशा बिक, तुलसीपुर १२ का ४९ बर्षीया खीमा वली र तुलसीपुर ११ की ५५ बर्षीया गीता मल्ललाई नेपालगंज मेडिकल कलेज कोहलपुर रेफर गरिएको हो ।

अन्य १८ जनाको भने राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार पनि ‘डिस्चार्ज’ गरिएको छ । गाडिमा चालक र सहचालकसहित २७ जना यात्रु थिए । ति मध्ये चालक र सहचालकसहित २० जनाको अबस्था सामान्य रहेको प्रहरीले बताएको छ । चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडिमा क्षमता भन्दा बढि यात्रु भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरी नायब उपरीक्षक शाहीले बताए । तुलसीपुर

प्रकाशित मिति : २०७५ माघ ५ गते शनिबार