कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिका–८ स्थित साईनिङ स्टार ई.मी स्कुलमा बुधबारदेखि तेस्रो खेल महोत्सव सुरु भएको छ । महोत्सवको कोहलपुर नगर शिक्षा शिखाका विद्यालय निरीक्षक दान बहादुर विष्टले उद्घाटन गरेका थिए ।
उद्घाटन सत्रमा बोल्दै विष्टले विद्यालयमा पढाइ मात्र ठुलो कुरा नभएर विद्यार्थीहरुका लागि खेकुदको पनि निकै महत्व भएको बताए । साथै उनले खेलकुदका कारण मानिसको स्वास्थ्य समेत राम्रो हुने हुँदा विद्यालय स्तरमा सञ्चालन गरिने खेलकुदले विद्यार्थीहरुको स्वस्थ्य राम्रो हुने बताए ।
त्यस्तै कार्यक्रममा विशेष अतिथि कोहलपुर नगरपालिका वडा नं. ९का वडाध्यक्ष ठाकुर प्रसाद थारुले पढाइका साथ साथै विद्यार्थीहरुको अतिरिक्त विकासका लागि खेलकुद महोत्सवले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
खेल महोत्सवमा विद्यालयमा रहेका चारवटा हरियो, रातो, निलो र पहेलो गरी चारवटै सदनका तीन तहका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने बताइएको छ ।
आगामी शुक्रबारसम्म सञ्चालन हुने खेल महोत्सवमा फुटबल, सटपुट, भलिबल, दौड, लङजम्प, डोरी तान्ने तथा रिले दौड लगायतका खेलहरु सञ्चालन गरिने विद्यालयका सह–प्रिन्सिपल नेत्र सिंहले बताए ।
विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत खेल महोत्सवको आयोजना गरिएको प्रबन्ध निर्देशक रुद्र खरेलले बताए ।