कोहलपुर टाउन भित्र विद्युतिकरण सुरु



कोहलपुर/  बाँकेको कोहलपुर नगर विकास समितिले नगर विकास समितिको क्षेत्र अन्तर्गतका पुराना विद्यतका पोल र तारलाई हटाएर नयाँ विधुतिकरण सुरुवात गरेको छ । आधुनिक शहरको विद्युतिकरणको मापदण्ड अनुसार कोहलपुर नगर विकास समितिले कोहलपुर–११ स्थित आफ्नो क्षेत्र भित्रका जनतालाई सहजताका लागि आधुनिक विद्युतिकरणको बुधबार शिलान्यास गरेको छ ।

शिलान्यान्स कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. १ का संघिय सांसद महेश्वर गहतराज अथकले आधुनिक विद्युतिकरणको शिलन्यास गरेका छन् । कार्यक्रममा बोल्दै सांसद गहतराजले कोहलपुर नेपालको मेरुदण्डको रुपमा रहेको, जमुनादेखि हिल्सा सम्मको चार लेनको सडक निर्माण कोहलपुरबाटै सुरु हुने र त्यस पछाडि कोलहपुर अन्तर्राष्ट्रिय केन्द्रका रुपमा रहने बताउँदै विद्युतिकरण कार्य सुरु भएको र अगामी असारसम्म शहरको मापदण्ड अनुसारको विद्युत विस्तार गर्नुपर्नेमा जोड दिए । साथै उनले राजनीतिक दलका नेता, निजामति कर्मचारी र ठेकेदारले देश बर्वाद पारेको भन्दै कोहलपुर नगर भित्रको विद्युतिकरण कार्य समयमैमा सम्पन्न गर्न ठेकेदारलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले कोहलपुर नगर भित्र विद्युतको ठुलो समस्या जनताले भोगिरहेको र अबदेखि जनताले पाइरहेको विद्युतिय समस्याबाट छुट्कारा पाउन सकिने बताए । साथै उनले कोहलपुर नगरविकास समिति र ठेकेदार कम्पनिले समयमै काम सम्पन्न गर्नुपर्ने बताउँदै ठेकेदारले कोहलपुर नगरपालिकाको भवन समेत अधुरो छोडेकोले कोहलपुर नगर भित्रको विद्युतिकरणका लागि जिम्मा पाएका ठेकेदार कम्पनीले बैमानी नगर्न आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै कोहलपुर नगर विकास समितिका अध्यक्ष अबराज खड्काले विगतका कोहलपुर नगर विकास समितिले पनि ठुलो संघर्ष गरेको र कोहलपुर टाउन भित्रका जनताको दबाबले काम गर्ने वातारवारण बनाएर नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रको खातामा २ करोड २५ लाख रकम जम्मा गरिसकेकोले र समयमै काम सम्पन्न गर्न लागि परेको बताएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राविधरण कोहलपुर वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले कोहलपुर नगरको टाउन भित्रका जनताले १८ सय मिटर लामो कालो तार तानेर विद्युत जडान गर्नुपर्ने समस्यालाई समाधान गर्नका लागि कोहलपुर नगर विकाससँगको लामो छलफलबाट व्यवस्थित रुपमा विद्युतिकरण गर्न सफल भएको बताएका छन् ।

कोहलपुर नगर विकास समितिको कुल २ करोड २५ लाख लागतमा कोहलपुर टाउन भित्र ४ सय ५० वटा पोल रहने र ती मध्ये ३ सय वटा पोल ११ मिटर लम्बाईका हुने कोहलपुर नगर विकास समितिले जनाएको छ भने ८ वटा ठाउँमा विद्युत ट्रान्सफर जडान गरिने भएको छ ।

आगामी असारभित्र कार्य सम्पन्न गर्ने गरी वाइबा इन्फ्राटेक प्रा.लि. काठमाण्डौंले जिम्मा पाएको छ । कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी, नेकपा नेता गोपाल गिरी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७५ मंसिर २० गते बिहीबार